लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रशासनिक कार्यालय सञ्चालनका लागि बाँकेको खजुरा गाउँपालिकाले पुरानो पालिका भवन र जग्गा हस्तान्तरण गरेको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गाउँपालिकाको नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि साबिकमा कार्यालयका रूपमा प्रयोग हुँदै आएको वडा नं. ४ स्थित भवन र जग्गाको स्वामित्व विश्वविद्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष विकले भने, ‘विश्वविद्यालयको केन्द्रीय कार्यालय खजुराबाटै सञ्चालन गर्न पालिकाको भवन र जग्गा हस्तान्तरण गरिएको हो ।’ खजुरा गाउँपालिकाले वडा नं.८ रनियापुरमा करिब ९४ बिघा सरकारी जग्गा उपलब्ध गराउन सिफारिस गरेपछि लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको हो ।
सङ्घीय सरकारबाट जग्गा प्राप्तिमा ढिलाइ भएपछि हाल नेपालगन्जस्थित वन डिभिजन कार्यालयमा केन्द्रीय कार्यालय र पठनपाठन सञ्चालन भइरहेको छ । वन डिभिजनसँगै कृषि विकास बैंकको भवनसमेत प्रयोग गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.विनोद ढकालले विश्वविद्यालय सञ्चालनका लागि खजुरावासीले पुर्याएको साथ, समर्थन र सहयोग सधैँ स्मरणीय रहने बताए ।
जग्गा प्राप्तिका लागि गाउँपालिकाले सुरुवातमै निर्णय गरे पनि विभिन्न नीतिगत निर्णय समयमै हुन नसक्दा ढिलाइ भएको उनको भनाइ छ । पछिल्ला निर्णयसँगै करिब ५० बिघा जग्गा विश्वविद्यालयले भोगचलन गर्न पाउने गरी प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।
खजुरा गाउँपालिकाले उपलब्ध गराएको जग्गा केन्द्रीय प्रशासनिक कार्यालय स्थापनाका लागि उपयुक्त भएकाले तत्काल कार्यालय सञ्चालन गरिने उनले बताए । विश्वविद्यालयमा बीटेक इन इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, बीटेक इन आइटी र बीटेक इन एआई विषयमा अध्ययन–अध्यापन भइरहेको छ ।
सत्यपाटी