२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

चौरजहारीका मेयर पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत ४ गते बुधबार

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार (चैत ३) वादीसँगै चौरजहारीका असिस्टेन्ट सबइन्जिनियर मोहन शाहलाई पनि सजायको माग राखेर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मेयर वादीविरुद्ध नगरपालिकाको असिस्टेन्ट सबइन्जिनियर पदमा कार्यरत शाहको करार अवधि थप्न घुस लिएको आरोप छ । सबइन्जिनियर शाह आफैँले मेयर वादीलाई एक लाख रुपैयाँ घुस खुवाएको भन्दै अख्तियारमा उजुरी दिएका थिए । आर्थिक वर्ष २०८१–०८२ मा एक लाख घुस दिएर करार थपिएको अनुसन्धानबाट खुलेको छ ।

आर्थिक वर्ष २०८२–०८३ मा पुनः एक लाख घुस दिन नसक्दा करार अवधि नथपी बर्खास्त गरेको भनाइ सबइन्जिनियर शाहको थियो । अख्तियारले घुस लिने र दिने कार्यमा दुवैजना दोषी रहेको दाबीसहित सजायको माग राखेर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले घुसबापतको एक लाख रुपैयाँ जफत, विगोबमोजिम जरिबाना र विगोको अनुपातमा अदालतसमक्ष सजायको माग गरेको छ ।

यस्तै, सबइन्जिनियर शाहले पनि पदमा निरन्तरता पाउन मोलाहिजा गरी घुस दिएको अभियोगमा सोही ऐनको दफा (९३) अन्तर्गत कसुर गरेको ठहर गरिएको छ । उनीमाथि पनि बराबर बिगो कायम गरी कैद, जरिवाना र रकम जफतको माग गरिएको छ । उक्त कसुरमा बिगो एक लाख कायम गरी कैद, जरिवाना र घुस रकम जफतको माग गरिएको छ । साथै सार्वजनिक पदमा रहेका कारण थप सजायको माग पनि गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार