मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ । अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीययाममै पोखरासहित आसपासका गन्तव्यमा चहलपहल घटेको हो । पोखरा आउने झन्डै ५० प्रतिशत विदेशी पर्यटकले आफ्नो ‘बुकिङ’ रद्द गरेको ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
‘मध्यपूर्वका देश भएर नेपाल आउने युरोप–अमेरिकाका पर्यटक हवाई असुरक्षा र उडान रद्द भएका कारण आउन सकेका छैनन्,’ उनले भने, ‘यही अवस्था लम्बिँदै गएमा कोभिड–१९ महामारीमाजस्तै पर्यटन क्षेत्र ठप्प हुनसक्छ ।’ पदयात्रामा आउने विदेशी पर्यटक न्यून हुँदा अन्नपूर्ण संरक्षण क्षेत्र लगायत गन्तव्यस्थल सुनसान बनेको उनको भनाइ छ । पदयात्रा पर्यटनका लागि चैत–वैशाखको याम उत्तम मानिन्छ ।
‘यो विदेशी पर्यटक बढी आउने याम हो, यही बेला मध्यपूर्वमा चर्किएको युद्धले आवागमन प्रभावित बनेको छ, पर्यटकले बुकिङ रद्द गरिरहेका छन्’, अध्यक्ष आचार्यले भने । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस याममा दैनिक तीन हजार ५०० देखि चार हजारसम्म पर्यटक नेपाल भित्रने गरेकामा मध्यपूर्वको तनावपछि एक हजार ८०० देखि दुई हजारसम्म मात्र पर्यटक आइरहेको बताए ।
‘युरोप, अमेरिका लगायत पश्चिमा मुलुकबाट मध्यपूर्वका देश हुँदै नेपाल आउने पर्यटकको सङ्ख्यामा भारी गिरावट आएको छ,’ उनले भने । उनका अनुसार चाँडो युद्ध समाप्त भएर मध्यपूर्वको अवस्था सामान्य नबन्ने हो भने अझै ठूलो सङ्कट नेपालको पर्यटन क्षेत्रमा आउँछ । मध्यपूर्वमा जारी युद्धका कारण कतार र युएईजस्ता मुख्य ‘ट्रान्जिट हब’हरु प्रभावित हुँदा नेपालमा पर्यटक आगामन घटेको प्रमुख लामिछानेले बताए ।
नेपाल आउने पर्यटकमध्ये ७० देखि ७८ प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् । ‘पर्यटन बोर्डले पछिल्लो समय दक्षिणपूर्वी एसियाली देशमा पर्यटन प्रवद्र्धनको सोच र योजना बनाइरहेको छ,’ प्रमुख लामिछानेले भने, ‘यसले नेपालको पर्यटन बजारलाई अन्तरराष्ट्रिय जगत्मा थप विस्तार गर्छ ।’ विदेशी मुलुकमा भइरहेको युद्ध र अशान्तिको असर नेपालको पर्यटन क्षेत्रमा पनि पर्ने भएकाले नयाँ ढङ्गले पर्यटन प्रवद्र्धनको योजना बनाउनुपर्ने उनको भनाइ छ ।
‘दा भिन्ची’ टुर्स एन्ड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत राजु थापाले नेपाललाई हवाई मार्गबाट जोड्ने कतार, युएई, कुवेत लगायत देशको हवाई उडान प्रभावित हुँदा नेपाल आउने पर्यटक लगायत सर्वसाधारण समस्या परेको बताए । ‘असुरक्षाका कारण धमाधम उडानहरु रद्द भइरहेका छन्, वैकल्पिक हवाई मार्ग प्रयोग गर्दा महँगो शुल्क तिनुपर्ने बाध्यता छ’, उनले भने । नेपाल आउने अधिकांश पर्यटक र यात्रुले ‘प्रि–बुकिङ’ रद्द गरेको प्रमुख कार्यकारी अधिकृत थापाले बताए । युरोप, अमेरिका लगायत पश्चिमा देशबाट नेपाल आएका पर्यटकलाई सम्बन्धित देशमा फर्किन कठिन भइरहेको उनको भनाइ छ ।
सत्यपाटी