२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

सत्यपाटीसत्यपाटी । चितवन । २०८२ चैत १ गते आइतबार

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ गरिएको छ । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएसँगै बिदाइ हुँदै गर्दा उनीहरुमा खुसी छाएको थियो । निर्वाचनको समयमा भरतपुर महानगरपालिका–२९ मा खटिएकी लक्ष्मी भण्डारी बिदाइ हुँदै गर्दा रमाइलो महसुस गर्दै थिइन् ।

विगत ४० दिन निर्वाचनका लागि राज्यले खटाएको ठाउँमा गएर सेवा गर्ने अवसर पाएको बताउँदै उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न पाउनु खुसीको कुरा भएको बताइन् । राज्यको सेवा गर्ने अवसरले नेपालका सुरक्षा निकायले कति मेहनतका साथ काम गर्ने रहेछन् भन्ने कुरा स्पष्टसँग बुझ्ने अवसर पाएको भण्डारीले बताइन् ।

आफूले निर्वाचनमा खटिँदा राज्यबाट पाएको सेवासुविधा छोराछोरीको अध्ययनमा खर्च गर्ने सोचमा उनी रहेकी छन् । यस्तै निर्वाचन शान्तिपूर्ण भएको भन्दै रेनुका पौडेल खुसी रहेकी छन् । उनी कक्षा १२ को अध्ययनपछि कोरिया, न्युजिल्यान्ड लगायतका देशमा गएर काम गरे पनि नेपालमा जनताको र राज्यको पहिलोपटक सेवा गर्ने अवसर पाएको बताउँछिन् ।

उनले भनिन्, ‘सुरुमा त मैले काम गर्न सक्दिनँ कि भन्ने लागेको थियो । पछि बानी पर्यो ।’ जब आफूले काम गर्दै जाँदा प्रहरीले कसरी काम गर्ने रहेछन्, बर्दी लगाई सकेपछि के सोच आउने रहेछ भन्ने ज्ञान भएको पौडेलले बताइन् । साँच्चिकै देशको सेवक भएर काम गरेको अनुभूति भएको उनले सुनाइन् ।

पौडेलले भनिन्, ‘४० दिनको कामले म सन्तुष्ट छु । यहाँ सेवा गर्दा आएको पैसाले स्नातक अध्ययन गर्ने योजना छ ।’ इलाका प्रहरी कार्यालय रत्ननगर अन्तर्गत रही निर्वाचनमा सहभागी भएकी सुनिता प्रजा बस्नेत प्रहरीमा सहभागी भएर निर्वाचन सम्पन्न भएकामा निकै खुसी छिन् । उनले नजानेका कुराहरु जान्ने अवसर पाएको बताइन् ।

अब राज्यले दिएको जिम्मेवारी पूरा गर्न सक्ने भएछु भन्ने लागेको उनी बताउँछिन् । बस्नेतले निर्वाचन प्रहरीमा खटिएर पाएको सुविधालाई व्यवसायमा प्रयोग गर्ने आफ्नो इच्छा रहेको बताइन् । उनले कुखुरा पालन गरेर घर खर्चको व्यवस्थापन गर्ने इच्छा रहेको बताइन् ।

इलाका प्रहरी कार्यालय खैरहनी मातहतमा रहेर निर्वाचनमा खटिएका सङ्कल्प केसीले निर्वाचन शान्तिपूर्ण रुपमा गर्ने जिम्मेवारी निर्वाचन प्रहरीमार्फत पाएको भन्दै आफूमा उत्साह बढेको बताए । उनले भने, ‘निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकामा निकै खुसी छु ।’

राज्यले आवश्यक ठानेर अन्य समयमा समेत जिम्मेवारी दिएमा आफू जिम्मेवारी सम्हाल्न तयार रहेको केसीको भनाइ छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो । जसमध्ये नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरीतर्फ ३२५ निर्वाचन प्रहरी रहेका थिए ।

उनीहरुलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्ज्वल बनाउन सिटिइभिटी र घरेलु कार्यालयसँग सहकार्य गरेर दुई चरणमा व्यावसायिक काम सिकाउन सरकारले पहल गर्ने बताए । सिटिइभिटीबाट एक वर्षमा एक हजार २०० जनाका दरले तालिमको व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार