२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

निर्वाचनका लागि नेपाल-भारत सीमा नाकामा कडा सुरक्षा

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ फागुन २० गते बुधबार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई शान्तपूर्ण रूपमा सम्पन्न गराउन बाँकेको नेपाल–भारत सीमामा उच्च सतर्कता अपनाउनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको दुबै देशका सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

सो क्रममा सीमा नाकाको सुरक्षा अवस्थाबारे जानकारी लिन भारतीय उच्च सुरक्षा अधिकारीहरूको एक टोलीले जमुनाहा नाकासहित रुपैडिहास्थित सुरक्षा चेकपोस्टहरूको अनुगमन गरेको छ । भारत बहराइच जिल्लाका अपर पुलिस अधीक्षक दुर्गाप्रसाद तिवारी, नानपाराका क्षेत्राधिकारी पहुपसिंह र रुपैडिहाका थाना इन्चार्ज रमेशसिंह रावत लगायतको टोलीले जमुनाहा नाकासम्म पुगेर सुरक्षा व्यवस्थाको समीक्षा गरेको छ ।

सीमामा खटिएका भारतीय सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिँदै बहराइच जिल्लाका अपर पुलिस अधीक्षक तिवारीले नेपालको निर्वाचनलाई सफल बनाउन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले त्यसका लागि नेपाली सुरक्षाकर्मीहरूसँग समन्वय र सहकार्य गर्न पनि निर्देशन दिए । सोही अवसरमा पत्रकारहरूसँग कुरा गर्दै अपर पुलिस अधीक्षक तिवारीले नेपालमा हुन लागेको संसदीय निर्वाचनलाई ध्यानमा राखेर क्षेत्रको निरीक्षण गरिएको जनाए ।

उनले निर्वाचन सफल पार्न सीमाना बन्ददेखि सुरक्षा कडासम्म सबै प्रकारको सहयोग गरिने बताए । रुपैडिहा थाना प्रमुख रावतले निर्वाचन र होली पर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै आफुहरू जमुनाहा इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीहरूसँग पनि निरन्तर सम्पर्कमा रहेको बताए । यता, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले निर्वाचनलाई लक्षित गरेर सीमानाको सुरक्षामा विशेष ध्यान दिइएको बताए ।

प्रजिअ तामाङ्गले नाकामा सुरक्षा कडा पारिएको जनाउँदै सीमा नाकामा नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्तीदेखि लिएर चेकजाँचमा पनि धेरै कडाई गरिरहेको बताए । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै फागनु १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नेपाल भारत जमुनाहा नाका पूर्णरूपमा बन्द रहेको छ ।

प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार