प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देशभरका मतदान केन्द्रमा हुने भीडभाडका कारण ‘फ्लु’ फैलन सक्ने आकलन गरिएको छ । मौसम परिवर्तनका कारण यतिबेला रुघाखोकी, ज्वरोलगायत समस्याका बिरामी बढेका छन् ।
मतदानको समयमा मतदानस्थलमा भीडभाड हुँदा संक्रमण फैलन सक्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । मतदान केन्द्रमा लामो समयसम्म लाइनमा बस्ने, नजिकको सम्पर्कमा रहने र सरसफाइका उपाय पूर्णरूपमा पालना नगरिँदा संक्रमण फैलन सक्ने उनको भनाइ छ ।
उनका अनुसार, फेब्रुअरी र मार्च नेपालमा संक्रमण फैलने महिना भएकाले पनि यति बेला अस्पतालमा फ्लुका बिरामी बढेका छन् । फ्लुले सामान्यतया तीनदेखि पाँच दिनसम्म सताउने गरेको छ । विज्ञ भन्छन्, ‘फ्लु भीडभाड भएका स्थानमा छिटो फैलिन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा खोकी, हाछ्युँ वा नजिकको सम्पर्कमार्फत सजिलै सर्न सक्छ ।’
जोखिममा को ?
६० वर्षभन्दामाथिका व्यक्तिहरूमा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । संक्रमण भएको खण्डमा जटिलता (ज्वरो, निमोनिया, मृत्यु) बढ्ने सम्भावना बढी हुन्छ । यस्तै, गर्भावस्थामा प्रतिरक्षा प्रणाली केही कमजोर हुन्छ । फ्लु वा संक्रमणले मातृ तथा शिशु स्वास्थ्यमा असर पार्न सक्छ ।
उच्च रक्तचाप, मधुमेह, मुटुरोग, दम, क्यान्सरजस्ता दीर्घकालीन समस्या भएका मानिसमा संक्रमणले जटिलता बढाउँछ । मतदान केन्द्र वा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, स्वयंसेवक, पोलिङ एजेन्ट आदि बारम्बार मानिससँग सम्पर्कमा हुने भएकाले जोखिम बढी हुन्छ ।
फ्लुका लक्षणहरू
- ज्वरो आउने, टाउको दुख्ने
- घाँटी दुख्ने र खोकी लाग्ने
- शरीर दुख्ने र अत्यधिक थकान महसुस हुने
- नाकबाट सिँगान बग्ने वा बन्द हुने
स्वास्थ्यकर्मीले मतदानका क्रममा मास्क, हात धुने वा स्यानिटाइजर, सम्भव भएसम्म दूरी कायम गर्ने र ज्वरो वा संक्रमणको लक्षण देखिएमा सावधानी अपनाउन सुझाव दिएका छन् । साथै, मतदान केन्द्रमा पिउने पानी, भीडभाडमा नबस्न सुझाव दिइएको छ ।
साधारण सावधानी अपनाएमा चुनावजस्ता ठूलो जनसमूह सहभागी हुने कार्यक्रममा पनि संक्रमणको जोखिम उल्लेख्य रूपमा घटाउन सकिने स्वास्थ्यविज्ञ बताउँछन् ।
सत्यपाटी