२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

हिउँद सकिएसँगै सुरु भयो ‘प्रि-मनसुन’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन १७ गते आइतबार

आज (मार्च १ अर्थात् फागुन १७) देखि हिउँदयाम अर्थात् विन्टर सिजन सकिएर प्रिमनसुन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अनुसार फेब्रुअरी महिना सकिएर मार्च १ सुरु भएसँगै नेपालमा प्रिमनसुन सिजन सुरु भएको हो । प्रिमनसुन भनेको मनसुन अर्थात् बर्खायाम भित्रिनुभन्दा अघिको सिजन हो ।

‘अब मनसुन सुरु नहुँदासम्म यही सिजन रहन्छ । यो सिजनमा चाहिँ हावाहुरी मेघगर्जन चट्याङसहित वर्षा हुने हुन्छ, तर प्रिमनसुन लाग्नेबित्तिकै आजैदेखि त्यस्तो हुन्छ भन्ने होइन । अब बिस्तारै मौसम त्यसतर्फ जान्छ,’ उनले आइतबार बिहान भने । उनका अनुसार प्रिमनसुनमा बिस्तारै तापक्रम पनि बढ्दै जान्छ ।

‘तापक्रम बढ्दै जाने बिहान सफा रहेको मौसम साँझपख बादल लाग्ने र मेघगर्जन हावाहुरीसहित क्षणिक वर्षा हुने हुन्छ । निरन्तर वर्षा भने हुँदैन’, मौसमविद् ढकालले भने । उनका अनुसार प्रिमनसुन तीन महिना– मार्च, अप्रिल र मेसम्म रहन्छ । यसपछि जुन महिनादेखि मनसुन अर्थात् बर्खा लाग्छ ।

यो सिजन चार महिना– जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ । मनसुन सकिएपछि पोस्ट–मनसुन सुरु हुन्छ । यो सिजन दुई महिना– अक्टोबर र नोभेम्बरसम्म रहन्छ । अनि डिसेम्बरदेखि फेरि विन्टर अर्थात् जाडो याम लाग्छ । मौसमविद्का अनुसार नेपालको मौसमलाई जम्मा चार भागमा वर्गीकरण गरिएको छ, प्रि–मनसुन, मनसुन, पोस्ट–मनसुन र विन्टर ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार