२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

निर्वाचन आउन चार दिन बाँकी : यसरी मिलाइएको छ पासको व्यवस्था

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन १७ गते आइतबार

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन सञ्चालन हुने विभिन्न सवारीसाधनका लागि कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

आयोगले सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२’ अनुरूप केही सवारीसाधनलाई पास नचाहिने व्यवस्था गरिएको जनाएको छ ।

आयोगले नेपाल सरकारलाई देहायबमोजिमका सवारीसाधन सम्बन्धित प्रयोजनका लागि मात्र प्रयोग हुने र असम्बन्धित यात्रु नबोक्ने सर्तमा पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरेको उल्लेख गरेको छ ।

निर्वाचन आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक पर्ने छैन ।

त्यस्तै, दूरसञ्चार सेवा, खानेपानी, विद्युत् तथा ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवा सम्बन्धी सवारीसाधन (चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गराउने) लाई पनि पास आवश्यक नपर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) लाई पनि पास जरुरी नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

साथै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, शिशु बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधन पनि निर्वाध सञ्चालन हुन सक्नेछन् ।

नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी गरिएको पर्यवेक्षक परिचयपत्रवाहकले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन तथा पर्यवेक्षणका लागि प्रयोग हुने सवारीसाधन तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनसमेत सहज रूपमा सञ्चालन गर्न पाइनेछ ।

यसैबीच, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरिएको छ । उक्त डेस्कबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी गरिने सवारी पाससमेत उपलब्ध गराइँदै आएको आयोगले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार