२०८३ कात्तिक ९ , आइतबार 25, October 2026, Sunday

ट्रम्पको दाबी : इरानका सर्वोच्च नेता खामेनी मारिए

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन् । यो इरानका जनताका लागि मात्र नभई विश्वभरका ती देशका जनताका लागि पनि न्याय हो, जसलाई खामेनी र उनको रक्तपिपासु गिरोहले मारेका थिए ।’

इजरायलले शनिबार राजधानी तेहरानसहित इरानका धेरैवटा सहरमा हवाई हमला गरेको थियो । जसमा अमेरिकाको पनि संलग्नता रहेको ट्रम्पले बताएका थिए । रोयटर्सले पनि इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता मारिएको दाबी गरेको छ । खामेनीको शव हवाई आक्रमणपछि भग्नावशेषमुनि फेला परेको थियो ।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खमेनीको मृत्यु भएको संकेत देखिएको बताएका थिए । अर्कातर्फ इरानका विदेशमन्त्री अब्बास अराघचीले भने सर्वोच्च नेता जीवित रहेको दाबी गरेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्ति मारिएको र ७४० भन्दा बढी घाइते भएको बताएको छ ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार