२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday
उद्योगको बदमासी

शिव कत्था उद्योगको बदमासी, विषाक्त पानी नहरमा मिसाउँदा फैलियो दुर्गन्ध

बाँकेको जानकी गाउँपालिका–६, गनापुरमा रहेको शिव कथ्था उद्योगले विषाक्त तरल पदार्थ मिसिएको पानी बग्ने ढल लामो समयदेखि सीधै नहरमा मिसाइरहेको पाइए पनि नियमनकारी निकाय भने बेखबर छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ फागुन १६ गते शनिबार

बाँकेको जानकी गाउँपालिका–६, गनापुरमा रहेको शिव कत्था उद्योगले दुर्गन्ध फैलिएको छ । उद्योगबाट निस्किने लेदोसहितको पानी सिक्टाको नहरमा मिसाइदिँदा नेपालगन्ज उद्योग आसपासका बस्तीका साथै उपमहानगरपालिका–२० का राझा क्षेत्रका बस्तीहरुमा समेत दुर्गन्ध फैलाएको छ ।

कत्था प्रोसेसिङपछि निस्किएको पानीसहितको लेदो नहरमा मिसाउँदा चराचुरुङ्गीका साथै घरपालुवा जनावरहरुलाई गम्भीर असर परेको नेपालगन्ज–२० का वडा सदस्य चक्रबहादुर बुढा बताउँछन् । उद्योगले कच्चा पदार्थ प्रशोधन गरेर मिस्किएको लेदो सोझै नहरमा मिसाउँदा त्यसको दुर्गन्ध सिक्टा नहरमा फैलिएपछि वडा नं. २० का बस्तीहरु प्रभावित भएको उनले बताए ।

‘दुर्गन्धका कारण घरभित्र समेत बस्न नसक्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘दुर्गन्धले खाँदाखाँदैको खानासमेत छोड्नुपर्ने अवस्था छ ।’ दुर्गन्धले घरमा राम्रोसँग बस्न र खेतवारीमा राम्रोसँग काम गर्न सक्ने अवस्था समेत नरहेको वडा सदस्य बुढाको भनाई छ । जानकी गाउँपालिका–६ का कबिर खाँले भने, ‘उद्योगले हाम्रो निद हराम गरी सक्यो ।’

वातावरण दुर्गन्धित बनाउने गरी सञ्चालनमा रहेको उद्योगलाई स्थानीय प्रहरी, प्रशासनको समेत संरक्षण रहेको उनको भनाई छ । उनले प्रहरी प्रहरीको आडमा उद्योगले रातीको समयमा विषाक्त लेदो नहरमा मिसाउने गरेको आरोप लगाए । यस क्षेत्रका स्थानीयहरुले कत्था उद्योगले रातीको समयमा सिँधै नहरमा ढल मिसाउने गरेको बताए ।

शिव कथ्था उद्योगले विषाक्त तरल पदार्थ मिसिएको पानी बग्ने ढल लामो समयदेखि सीधै नहरमा मिसाइरहेको पाइए पनि नियमनकारी निकाय भने त्यसलाई रोक्नेबारे उदासिन देखिएका छन् । कत्था उद्योगले विषाक्त रसायनयुक्त ढल नहरमा मिसाएपछि स्थानीयले ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गर्दै आए पनि नियमन गर्ने निकाय भने त्यसबारे बेखबर देखिएका हुन् ।

शिव कत्था उद्योगबाट निस्किने रसायनयुक्त विषाक्त पदार्थले नहरको पानीको रंगसमेत कालो भएको देख्न सकिन्छ । उक्त पानी पूर्णरुपमा दुषित रहेकोले उक्त पानीबाट सिंचाई गर्दा बालीनाली नै नष्ट हुने स्थानीयको भनाई छ । उद्योगले कत्था उत्पादन गर्दै निस्कने विषाक्त पदार्थ संसोधन नगरी नहरमा मिसाउने गरेको छ । यसबारेमा कत्था उद्योगका संचालकसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार