२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

अमेरिकाबाट फेरि ९५ जना नेपाली डिपोर्ट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन १६ गते शनिबार

अमेरिकाले ९५ नेपालीलाई डिपोर्ट गरेको छ । डिपोर्ट भएका नेपालीहरू शनिबार बिहान काठमाडौं आइपुगेका छन् । अमेरिकाले उनीहरूलाई चार्टर विमानमाफ्रत् काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाडिदिएका हुन् । एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो ।

यसअघि माघ ५ गते अमेरिकाले ९१ नेपालीलाई एकैदिन डिपोर्ट गरी पठाएको थियो । अमेरिकाले यसअघि पनि पुस ३ गते पनि ७५ नेपालीलाई एकैपटक डिपोर्ट गरी नेपाल पठाएको थियो । त्यस्तै भदौ १९ गते एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।

विमानस्थल अध्यागमन कार्यालयका अनुसार अमेरिकाले डिपोर्ट गरी पठाएका ९५ जना नेपाली चार्टर विमानमाफ्रत् शनिबार काठमाडौं आइपुगेका छन् । अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिक डिपोर्ट गरिएका हुन् ।

विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाइएको छ । प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार