२०८२ फागुन १३ , बुधबार 25, February 2026, Wednesday

गिरिघाटका बाढीपीडितको प्रश्न, ‘फेरि पनि आश्वासन पत्याउने ?’

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८२ फागुन १३ गते बुधबार

सुर्खेतको बराहताल–२ स्थित गिरिघाटको बाढीपीडित शिविरमा दैनिक उम्मेदवारको प्रचारमा गुडेका गाडीहरूको आवाज, उम्मेदवारको पक्षमा बनाइएका गीत र मतदानका लागि गरिएका अपिलहरूको माइकिङको चर्को आवाजले बस्तीका अस्थायी टहरा छोएर जान्छ । यो बस्ती कर्णाली राजमार्गको सडक किनारमै फैलिएको छ ।

चुनाव नजिकिँदै जाँदा यहाँ उम्मेदवार र उनका समर्थकहरूको ओहोरदोहोर बाक्लिएको छ । एक समूह गएलगत्तै अर्को समूह बस्तीमा पुग्छ । हातमा पर्चा, मुखमा आश्वासन र भाषणमा विकासका ठुला सपना हुन्छन् । एक दशक अघिदेखि त्रिपालमुनिको बास, पुनर्वासको प्रतीक्षा, राहतका अपुरा वाचा र अस्थायी जीवनको पीडाले उनीहरूलाई धेरै कुरा सिकाएको छ ।

अस्थायी टहरामै दलका नेताहरू मत माग्न आएको यो तेस्रो पटक हो । २०७४ र २०७९ मा भएका निर्वाचनमा पनि उम्मेदवारहरू बस्तीमा भोग माग्दै आएका थिए । त्यति बेला उनीहरूले जे बाचा गरेका थिए र आश्वासन बाँडेका थिए ती अहिले पनि दोहोर्याउँछन् । उम्मेदवार र तिनका समर्थकले गर्ने बाचा र बाँडेका आश्वासनहरू अहिले भने मतदाताले पत्याउने अवस्था छैन ।

२०७१ साल साउनमा आएको बाढीपहिरोले सुर्खेतमा ११५ जनाले ज्यान गुमाएर एक हजार ४५ परिवार पूर्णरूपीमा विस्थापित भएपछि गिरिघाटमा आएका १५० जना बाढीपीडितहरूका १२ वर्ष बितिसक्दा पनि पुनःस्थापना नहुँदा उनीहरूको दैनिकी झन्झन् कष्टकर बन्दै गएको छ । हरेक पटकको चुनावमा आउने उम्मेदवारले मत माग्दा पुनर्वासको आश्वासन देखाए पनि कुनै सरकारले पूरा नगरेको पीडितको गुनासो छ ।

यो बस्तीमा बस्दै आएकी सिर्जना बिकलाई यसपालिको चुनावमा मतदान नगरौँ कि भन्ने नलागेको पनि होइन । तर मतदान आफ्नो अधिकार हो भन्ने बुझिएकी उनलाई मत कस्लाई दिने भन्ने अन्योल कायमै रहेको छ । ‘पहिला जसले बस्तीका माग सम्बोधन गर्छौ भन्नुभयो उहाँलाई पालिका र केन्द्रमा मत हाल्यौ,’ उनले भनिन्, ‘जितेर गएपछि कोही पनि बस्तीमा फर्किनु भएको थिएन । चुनाव आएपछि फेरी सबै उम्मेदवार बस्तीमा आउनुभएको छ ।’

सधैँ चुनावका बेला आश्वासन दिने जितेर गएपछि फर्केर नआउने नेताहरूप्रति उनको भरोसा र आशा टुटेको उनले बत्ताइन् । १२ वर्षमा खोला पनि फर्कन्छ भन्थे तर बाढीपीडित विस्थापितका दिनहरू नफिरेको रगुबिर नेपालीले बताए । नेताहरूले चुनावका बेला गरेका बाचा भुलेपछि पीडितहरूले सास्ती भोग्नु परेको बताए ।

‘पालिकाको चुनावमा वडाबाट भनेको मान्छेलाई जिताएर पठाए पनि बस्तीको समस्या समाधानका लागि ठोस काम गर्न सकेनन्,’ उनले भने, ‘मतदानसम्म हेर्छौ अनि माग पूरा गर्ने प्रतिबद्धता गर्ने उम्मेदवारलाई भोट हाल्छौं ।’ बस्तीमा बस्नका लागि समस्या मात्रै होइन हरेक छाक टार्न पनि मुस्किल हुने गरेको स्थानीय रुपलाल बिकले बताए । बस्तीका अधिकांश युवाहरू रोजगारीको खोजीमा भारत गएका र उनीहरू मतदानका लागि फर्किने अवस्थामा नरहेको उनको भनाई छ ।

‘बाह्र हिउँद–बर्खा खपियो, यो बिचमा तीन चुनावमा भोट हालियो, अझै हाम्रो बस्ती पुनःस्थापनाको छाँट छैन,’ उनले भने, ‘भोट पनि किन दिने हो र ?’ बस्तीमा खानेपानी समस्या, बालबालिकालाई पढ्नको लागि टाढा जानुपर्ने बाध्यता र दैनिक छाक टार्न पनि समस्या हुने गरेको उनीहरूको भनाई छ । ‘बस्तीमा धेरै समस्याहरू भई छन् कसैले सुनुवाइ गर्दैनन्,’ स्थानीय प्रेमबहादुर नेपालीले भने, ‘दाउरा बेचेर, गिट्टी कुटेर, मजदुरी गरेर दैनिक छाक टार्नुपर्ने बाध्यता छ ।’

रोजगारीका लागि युवाहरू भारत गए पछि बस्तीमा बालबालिका, बुढाबुढी र महिलाहरुमात्र रहेको उनको भनाई छ । २०७१ मा भेरी नदीमा आएको बाढीले बराहतालका पक्का, रानीघाट, इखेनी, डोप्खा, सिस्नेरी लगायतका गाउँहरू बगाएपछि गिरिघाट आएका बाढीपीडितले १२ वर्षदेखि सास्ती भोग्दै आएका छन् । सुर्खेत क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका नारायणप्रसाद कोइराला, नेकपा एमालेका कुलमणि देवकोटा, नेकपाका झकबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा लगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार