२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

बैंक खाता खोल्न बाँकेका उम्मेदवारलाई निर्वाचन आयोगको ताकेता

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये हालसम्म ३० जनाले मात्र निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता खोलेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा आठ, क्षेत्र नम्बर २ मा १३ र क्षेत्र नम्बर ३ मा नौ गरी ३० जना उम्मेदवारले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सर्वोदय उपाध्यायले निर्वाचन खर्च प्रयोजनका लागि जिल्लामा ३० जनाले मात्र खाता खोलेको र १० जनाले खाता खोल्ने सिफारिस लिएर गएको जानकारी दिए । उनका अनुसार फागुन ४ गतेभित्रै सबै उम्मेदवारले खाता खोलिसक्नुपर्नेमा हालसम्म पनि २६ जनाले खाता नखोलेकाले उनीहरूलाई पटक–पटक फोनमार्फत ताकेता गरिएको छ ।

अनुगमन अधिकृत उपाध्यायले भने, ‘फोन गरेर ताकेता गर्दा खाता खोल्ने प्रतिबद्धता सबैले जनाउनुहुन्छ तर कार्यान्वयन भएको पाइएको छैन । हामीले निरन्तर ताकेता गरिरहेका छौँ ।’ खाता नखोल्नेमा अधिकांश स्वतन्त्र उम्मेदवार रहेको समितिले जनाएको छ । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

सो व्यवस्था कार्यान्वयनको विषयमा निरन्तर अनुगमन भइरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन अधिकृत पूर्ण खत्रीले बताए । उनका अनुसार उम्मेदवारको नाम, दल, क्षेत्र र बैंकको विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइँदैछ । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ५६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगले क्षेत्र नम्बर १ का लागि ३१ लाख रुपैयाँ र क्षेत्र नम्बर २ तथा ३ का लागि २९ लाख रुपैयाँसम्म खर्चको सीमा तोकेको छ ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार