२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

भारतीय लडाकु विमानको ‘ब्रेक फेल’ भएपछि…

भारतीय वायुसेना (आइएएफ)को एक हल्का लडाकु विमान तेजस अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै घटना फेब्रुअरी ७ मा भएको तर खुलासा अहिले भएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएका कारण विमानले धावनमार्ग छाडेको देखिएको छ । विमान प्रशिक्षण उडानपछि एयरबेसमा फर्किरहेको थियो । अवतरण गर्दा पाइलटले ब्रेक लगाउने प्रयास गरे । तर ब्रेक फेल हुँदा विमान धावनमार्गबाट बाहिर गएको हो ।

पाइलट भने दुर्घटना हुनुभन्दा पहिले सुरक्षित रूपमा बाहिर निस्कन सफल भए । विमानमा क्षति पुगेको छ । दुर्घटना भएको ठ्याक्कै एयरबेस अहिले थाहा हुन सकेन । स्रोतका अनुसार घटनापछि भारतीय वायुसेनाले लगभग ३० सिंगल–सिट तेजस जेटको सम्पूर्ण फ्लिटलाई प्राविधिक निरीक्षणका लागि ग्राउन्डेड गरेको छ ।

यसको अर्थ अनुसन्धान पूरा नभएसम्म विमान उडाइने छैन । दुर्घटनाबारे आईएएफबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यो तेजस जेट दुर्घटना भएको तेस्रोपटक हो । यसअघि २०२४ मार्चमा तेजस जेट जैसलमेर नजिकै दुर्घटना भएको थियो । यसपछि फेरि २०२५ नोभेम्बरमा दुबई एयरसोका क्रममा तेजस जेट दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार