२०८३ असोज २३ , शुक्रबार 10, October 2026, Saturday

शृंखलाबद्ध व्यक्ति हत्या : २० वर्षदेखि फरार अफजल पठान भारतमा समातिए

२० वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति भारतबाट परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२२ का ५३ वर्षीय अफजल पठान छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भारतको बहराइजबाट पक्राउ गरेर ल्याएको हो ।

उनीमाथि शृंखलाबद्ध रुपमा तीन व्यक्तिको हत्या गरेको आरोप छ । पछिल्लो पटक १७ चैत २०८० मा नेपालगञ्ज–२१ गंगारामपुर्वास्थित आफ्नो घरबाट २२ वर्षीय इन्तजार भनिने मोहम्मद अरबी खाँ हराएका थिए । राति ११ बजेतिर उनलाई अपरिचित व्यक्तिले बेपत्ता बनाएका थिए ।

भोलिपल्ट बिहान साढे ९ बजेतिर उनको घरदेखि करिब ५०० मिटर दक्षिणतर्फको गंगापूर्वादेखि तेलियनपुर जाने कच्ची सडकको बाटोमा अरबीको शव भेटिएको थियो । घाँटी रेटेर काटिएको अवस्थामा उनको शव फेला परेको थियो भने पेटमा कुनै धारिलो वस्तु रोपेको भेटिएको थियो ।

बीभत्स अवस्थामा शव भेटिएपछि स्थानीय प्रहरी, जिल्ला प्रहरीदेखि प्रदेश प्रहरीले समेत घटनाको अनुसन्धान गरेका थिए । तर अभियुक्तको पहिचान हुन सकेको थिएन । त्यसपछि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली पनि अनुसन्धानका लागि बाँके पुगेको थियो ।

विभिन्न प्राविधिक कोणबाट सीआईबीले अनुसन्धान गरे पनि अभियुक्त पहिचान गरेर पक्राउ गर्न सकेको थिएन । घटनाको करिब दुई वर्षपछि अहिले यो हत्याका अभियुक्त पठानलाई पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।

नेपाल–भारतको सीमा क्षेत्रमा लुकिछिपि बसेका उनी निर्वाचनको मौकामा नेपाल छिर्दै गर्दा पक्राउ परेको भनेर प्रहरीले औपचारिक रुपमा बताएको छ । यद्यपि उनी भारतबाट पक्राउ परेका हुन् । व्यक्तिगत रिसइबीका कारण उनले अरबी खाँको हत्या गरेको प्रहरीले जनाएको छ ।

तर त्यो कस्तो प्रकारको रिसइबीको हो भन्नेबारे पूर्ण अनुसन्धान भएपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ । भारतबाट पक्राउ गरेर ल्याएका पठानविरुद्ध जिल्ला अदालत बाँकेबाट कर्तव्य ज्यान मुद्दाको कसुरमा सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी जिसीले बताए ।

दुई हत्याका फरार अभियुक्त

अरबी खाँ हत्यामा पक्राउ परेका पठानमाथि अनुसन्धान गर्दा यसअघि दुई व्यक्ति हत्यामा फरार रहेको पनि देखिएको छ । बाँकेमै यसअघि १७ असार २०६१ मा हफिजुल्ला खाँको हत्या भएको थियो । यो हत्यामा पनि उनी जोडिएको देखिएको प्रहरीले बताएको छ । यो हत्याको मुद्दा अदालतमा दर्ता भइसकेको छ ।

जसमा पठानलाई फरार प्रतिवादी बनाइएको पाइएको छ । यसबाहेक ११ भदौ २०६२ मा बाँकेमै रियाज खाँको पनि हत्या भएको थियो । यो हत्यामा पनि पठानविरुद्ध किटानी जाहेरी परेको खुलेको छ । यसको अनुसन्धान भने अझै टुंगिएको छैन । प्रहरी अब यी दुवै घटनामा पठानमाथि अनुसन्धान अघि बढाउने भएको छ ।

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार