२०८२ फागुन ६ , बुधबार 18, February 2026, Wednesday

आइसीसी टी-२० विश्वकपमा १२ वर्षपछि नेपालको पहिलो जित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन ६ गते बुधबार

दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले आइसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले हरायो । यससँगै १२ वर्षपछि नेपालले विश्वकपमा पहिलो जित हात पारेको छ । मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको हो ।

नेपालले सन् २०१४ पछि टी–२० विश्वकपमा पहिलो खेल जितेको हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता ६ खेलमा हार व्यहोरेको थियो । यसपटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो । तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद अन्त्य गरेको छ ।

स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा दीपेन्द्रले अर्धशतक प्रहार गरे । यस्तै कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन योगदान गरे । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै ५६ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ९.१ ओभरमा ७४ रनको साझेदारी गरे । तर अर्धशतक नजिक पुगेका भुर्तेललाई माइकल लिस्कले टम ब्रुसबाट क्याचआउट गराएपछि नेपालको रनगतिमा केही अंकुश लागेको थियो । आसिफ र कप्तान रोहितले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेपनि लिस्कले लगातार विकेट लिँदै नेपाललाई दबाबमा राखेका थिए ।

अर्का ओपनर आसिफ पनि १२औं ओभरमा लिक्सकै बलमा आउट भए । आसिफले २७ बलमा २ छक्का प्रहार गरी ३३ रन जोडे । लिस्कले आफ् तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेल (१६) लाई माइकल जोन्सबाट क्याचआउट गराउँदै तेस्रो सफलता दिलाए । ९८–३ को अवस्थाबाट उपकप्तान दीपेन्द्र सिंह ऐरी र पाँचौ नम्बरमा प्रमोट भएका गुल्सन झा मिलेर नेपालको इनिङ्स अघि बढाएका थिए ।

आक्रमक ब्याटिङ गरेका दीपेन्द्रलाई गुल्सनले राम्रो साथ दिएका थिए । दीपेन्द्रले १६औं ओभरमा लिस्कलाई २ छक्का र १ चौका प्रहार गरेपछि नेपालले एकै ओभरमा २० रन जोडेको थियो । दीपेन्द्रले अन्तिम ओभरमा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् ।

यसअघि उनले वेस्ट इन्डिज विरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी२० विश्वकपमा लगातार अर्धशतक हान्ने उनी पहिलो नेपाली खेलाडी बने । यस्तै गुल्सन झाले अविजित २४ रन बनाए । १७ बल खेल्दै उनले १ चौका र २ छक्का प्रहार गरे । बलिङमा स्कटल्याण्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

अन्तिम पाँच ओभरमा नेपाली बलरले लगातार विकेट लिँदै स्कटल्यान्ड दबाबमा राख्यो । सोमपालले एक ओभरमा दुई विकेट लिएपछि नेपालले हरेक ओभरमा विकेट लिएको थियो । नेपालले अन्तिम ओभरमा ६ विकेट लिँदा ३९ रन मात्र खर्चेको थियो । १६औं ओभरमा दोस्रो स्पेल लिएर आएका सोमपालले एकै ओभरमा दुई विकेट लिए ।

उनले अर्धशतक बनाएर अघि बढिरहेका माइकल जोन्सलाई १६औं ओभरको दोस्रो बलमा बोल्ड गरे भने त्यसपछि चौथो बलमा म्याकमुलेनलाई कट एण्ड बोल्ड गरे । म्याकुलमलाई १५ रन हुँदा सन्दिप जोराले क्याच ड्रप गरेका थिए । तर सोमपालले भने आफ्नै बलिङमा विकेट लिए । १७औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले स्कटिस कप्तान रिची बेरिङटनलाई सन्दिप जोराबाट क्याचआउट गराए ।

बेरिङटनले ६ बलमा १० रन बनाएर आउट भए । १८औं ओभरमा नन्दन यादवले म्याथ्यु क्रस (४ रन) लाई बोल्ड गरे । सोमपालले १९औं ओभरको चौथो बलमा टम ब्रुस (५) लाई बोल्ड गर्दै व्यक्तिगत तेस्रो र टिमको छैटौं सफलता दिलाए । नन्दनले २०औं ओभरमा माइकल लिस्कलाई आउट गर्दै व्यक्तिगत दोस्रो विकेट लिए । मार्क वाटले ४ बलमा १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे ।

प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार