मोरङका अधिकांश पोल्ट्रीमा भारतीय कुखुरा छ्यापछ्याप्ती पाइन थालेको छ । नियमन नहुँदा नेपाली पोल्ट्रीले बदमासी गर्दै भारतीय कुखुरा मिसाएर बिक्री गर्ने गरेको खुलेको हो । भारतबाट झोलामा बोकेर ल्याएको कुखुरा सीमा क्षेत्रका फ्रेस हाउसमा जम्मा गरेर पोल्ट्रीसम्म पुर्याउने गरेको छ ।
कुखुरा पालन गरेर पोल्ट्रीले फ्रेस हाउससम्म वितरण गर्नुपर्नेमा उल्टै फ्रेस हाउसबाट पोल्ट्रीमा कुखुरा पुर्याउने गरेको पाइएको हो । सशस्त्र प्रहरी बल नेपाल सीमासुरक्षा बल रानीले शनिवार विराटनगर–१७ स्थित अप्सरा फ्रेस हाउसबाट कुखुरा लोड गरिरहेको अवस्थामा सुन्दरहरैँचा–११ का सञ्जीव श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो ।
फ्रेस हाउसबाट झोलामा राखिएको कुखुरा ल्याउँदै प्रदेश १–०२–००२ च ३६३७ नम्बरको बलेरो जिपमा लोड भइरहेको अवस्थामा सशस्त्रले नियन्त्रणमा लिएको थियो । चालक र ३०० थान कुखुरा लोड गरिएको सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यु पाथीभरा पोल्ट्री सप्लायर्स सुन्दरहरैँचा सलकपुरको कुखुरा रहेको खुलेको थियो ।
सशस्त्र प्रहरी बल सीमासुरक्षा पोस्ट रानी प्रहरी नायब उपरीक्षक तिलक खड्काका अनुसार नियन्त्रणमा लिएको कुखुरा क्यारेन्टाइनमार्फत त्यसको कागजात र विवरण माग गरिएको थियो । कागजातबिना फ्रेस हाउसबाट पोल्ट्रीमा पठाएको खुलेको थियो ।
तीन लाख रुपैयाँ मूल्य बराबरका कुखुरा पशु क्वारेन्टाइन, मासु व्यवसायी सङ्घ, अन्डा व्यवसायी सङ्घ र स्थानीय प्रतिनिधिसमेतको रोहबरमा नष्ट गरी मुचुल्का उठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । छ लाख रुपैयाँ मूल्याङ्कन गरेर कुखुरा लोड भएको बलेरो जिप विराटनगर भन्सारमा बुझाइएको छ ।
मासु व्यवसायी सङ्घ मोरङका अध्यक्ष सुवास शिवाकोटीका अनुसार भारतबाट अवैध रूपमा कुखुरा आयात गर्दा नेपालका किसानले उत्पादन गरेका कुखुराले मूल्य पाउँदैनन् । जसका कारण किसान हतोत्साहित भएर पाल्न छोड्छन् । पोल्ट्रीहरूले भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउँदा त्यसको असर किसान, मासु व्यवसायी सङ्घ र उपभोक्तासम्मलाई पर्ने शिवाकोटीको भनाइ छ ।
सशस्त्रले नियन्त्रणमा लिइएका कुखुराका लागि नक्कली भेटेरिनरी बिलसमेत जारी गराइएको भेटिएको छ । सामान्यतः एक जिल्लाबाट अर्को जिल्लामा कुखुरा पठाउँदा पोल्ट्री फार्मको निरीक्षण गरेर मान्यता प्राप्त भेटेरिनरी चिकित्सकले स्वस्थताको प्रमाणपत्र जारी गर्नुपर्ने हुन्छ ।
मासु व्यवसायी सङ्घ शिवाकोटीका अनुसार मोरङको विराटनगर–१७ स्थित अप्सरा फ्रेस हाउसबाट पोल्ट्री फार्ममा कुखुरा पठाउन पनि चिकित्सक प्रमाणपत्र जारी गरेको पाइएको छ । अध्यक्ष शिवाकोटीले भने, ‘फ्रेस हाउसले जिउँदो कुखुरा बिक्री गर्नै पाउँदैन, त्यहीमाथि नक्कली भेटेरिनरी बिल जारी गराएर पोल्ट्री फार्ममा पठाएको देखिएपछि नष्ट गर्नुपर्ने निष्कर्षमा व्यवसायी नै पुगेका हौँ ।’
न्यु पाथीभरा पोल्ट्री सप्लायर्स पाथीभराका सञ्चालक सन्तोष न्यौपानेसँग यस विषयमा कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । सशस्त्र प्रहरी बल सीमासुरक्षा रानीका प्रहरी नायब उपरीक्षक खड्काले झोलामा कुखुरा ल्याउँदादेखि फ्रेस हाउसमा जम्मा गरेको सबै सूचना सङ्कलन गरेर गाडीमा लोड गर्न थालेपछि मात्रै नियन्त्रणमा लिइएको दाबी गरे । भारतको पोल्ट्रीले ४५ दिनदेखि ५५ दिनसम्ममा कुखुरा बिक्री गरिसक्ने गर्छन् ।
त्यसपछिका कुखुरा भारतमा खपत नहुने भएकाले त्यसलाई बुढा कुखुराका रूपमा लिइन्छ । तिनै बुढा कुखुरा खुला सीमामा चाँजोपाँजो मिलाएर नेपाल भित्र्याउने गरिन्छ । अध्यक्ष शिवाकोटीका अनुसार भारतबाट आउने एउटै कुखुरा तीन केजीभन्दा माथिको हुन्छ । नेपालमा चाहिँ अढाई केजीदेखि तीन केजीसम्म मात्रै हुन्छ ।
सत्यपाटी