२०८२ फागुन ४ , सोमबार 16, February 2026, Monday
२६३ औँ सेना दिवस

सुःखदुःखको साथी नेपाली सेना

नेपाली शान्ति सैनिक राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिक र त्यहाँको सरकारको पनि भरोसायोग्य सङ्गठन बन्नु मुलुककै लागि गर्वको विषय हो । यो वीरता, बलिदानी र विश्वासको विश्वजगतबाटै प्रशंसा भइरहेको छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन ३ गते आइतबार

सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी । आगलागी होस् या बाढी, हुरी चलोस् वा खडेरी, विपत्ति, सङ्कट वा जुनसुकै दुर्घटना सुःखदुःखको साथी हो नेपाली सेना । वि.सं.१८१९ मा स्थापना भएको नेपाली सेना अनेकौँ गौरवपूर्ण गाथा र सुनौला इतिहास अक्षुण्ण राख्दै २६३ औँ वर्षमा प्रवेश गरेको छ । महाशिवरात्रि पर्व तथा सेना दिवसको विशेष अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा २६३ औँ स्थापना दिवस मनाइएको छ ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाले आफूलाई एक सुरक्षा सङ्गठनका रूपमा मात्र नभई राष्ट्रिय एकता कायम राख्दै आमनागरिकको सबैभन्दा विश्वास र भरोसायोग्य सङ्गठनका रूपमा आफूलाई स्थापित गराएको छ । सैनिक प्रवक्ता राजाराम बस्नेत स्थापनादेखि नै नेपाली सेनाले मुलुक, नागरिक र संविधानप्रति प्रतिबद्ध भई राष्ट्रले तोकेको जिम्मेवारी निष्ठासाथ पूरा गरेका कारण आमनागरिकको भरोसा र विश्वास पाएको बताउँछन् ।

उनी भन्छन्, ‘नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि मुलुक र नागरिकको रक्षार्थ संविधान अनुसार जस्तोसुकै कठिन परिस्थितिसँग जुध्न तयार रहँदै आएको छ । भविष्यमा यसलाई अक्षुण्ण राख्ने छ ।’ उनले नेपाली सेना मुलुकको समग्र सुरक्षासँगै विपत् व्यवस्थापन र राष्ट्र निर्माण (पूर्वाधार विकासमा), कला संस्कृति र ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रको संरक्षणमा सदैव समर्पित रहने पनि बताए ।

१७ औँ शताब्दीमा विश्वव्यापी रूपमा राज्यसत्ता कब्जा गर्ने औपनिवेशवादलाई सिमानामै रोकी नेपाललाई औपनिवेशमुक्त राख्न सफल भएको नेपाली सेना आन्तरिक तथा बाह्य सुरक्षासँगै द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ अग्रपङ्क्तिमा खटिएर विश्वमाझ छुट्टै पहिचान बनाउन सफल छ । आन्तरिक विवादका कारण गृहयुद्धमा फसेका कैयौँ मुलुकका नागरिकको जिउधनको रक्षा र शान्तिका लागि नेपाली सेनाले देखाएको वीरता र बलिदानी नेपालकै परिचय बनेको छ ।

संयुक्त राष्ट्रसङ्घले नेपाली सेनालाई सबैभन्दा विश्वासिलो र भरपर्दो सुरक्षा सङ्गठन मान्दै जटिल र संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा दिने गरेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिक विभिन्न युद्धग्रस्त स्थलमा तैनाथ भइसकेका छन् । शान्ति सैनिकसँगै महिला शान्ति सैनिक खटाउनेमा नेपाल अहिले अग्रस्थानमा छ । संयुक्त राष्ट्रसङ्घका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्य नेपाली सेनाले विश्व शान्ति, स्थायित्व र सैन्य कूटनीति सुमधुर बनाउन खेलेको भूमिका अतुलनीय र विशिष्ट रहेको बताउँछन् ।

उनी भन्छन्, ‘म संयुक्त राष्ट्रसङ्घमा पहिलो पटक काम गर्दा लेबनानमा जम्मा ८८१ जना नेपाली शान्ति सैनिक तैनाथ थिए । यसलाई बढाएर दुई हजार ४०० पुर्यायौँ । निरन्तरको प्रयास र नेपाली शान्ति सैनिकले देखाएको वीरता र बलिदानीका कारण आज शान्ति सैनिक खटाउने मुलुकमा नेपाल पहिलो स्थानमा छ ।’ नेपाली शान्ति सैनिक राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिक र त्यहाँको सरकारको पनि भरोसायोग्य सङ्गठन बन्नु मुलुककै लागि गर्वको विषय रहेको बताउँदै उनले यो वीरता, बलिदानी र विश्वासको विश्वजगतबाटै प्रशंसा भइरहेको बताए ।

उनले १० हजार शान्ति सैनिक खटाउने प्रतिबद्धताले नेपालप्रति राष्ट्रसङ्घको भरोसा थप वृद्धि भएको पनि उनले बताए । विश्वमाझ गौरवपूर्ण परिचय बनाएको नेपाली सेना मुलुक र नागरिकप्रति समर्पित रही संविधान, समावेशिता आत्मसात् गर्दै राष्ट्रनिर्माणमा समेत निरन्तर क्रियाशील छ । विकास निर्माण, विपत् व्यवस्थापन तथा पूर्वाधार विकासका अनेकौँ चुनौती पन्छाउँदै सेनाले दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा गुणस्तरीय पूर्वाधार निर्माणमा पनि विशिष्ट योगदान दिँदै आएको छ ।

सेनाले यतिबेला राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण गरिरहेको छ । कालीगण्डकी कोरिडोर, खाँदबारी–किमाथाङ्का र कर्णाली कोरिडोरजस्ता जटिल भौगोलिक बनावटमा रहेका सडक निर्माण सम्पन्न गरेको छ । यस्तै घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला सडकखण्ड निर्माणाधीन छ । बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ र दार्चुला तिङ्कर सडक आयोजना पहिलो प्राथमिकता छन् ।

पूर्वाधारविज्ञ तथा पूर्वसचिव अर्जुनजङ्ग थापा पूर्वाधार विकासमा नेपाली सेनाले पुर्याएको योगदान अतुलनीय रहेको बताए । राष्ट्रिय गौरवका द्रुतमार्ग जस्ता सडक पूर्वाधारले विकास निर्माणमा मुलुककै आँखा खोलेको बताउँदै थापा भन्छन्, ‘द्रुतमार्गले वार्षिक झन्डै १२ अर्बको इन्धन बचत हुन्छ, आठ–नौ वर्षमै यसको लागत पनि उठ्छ ।’ निजी क्षेत्रले निर्माण गर्न नसकेका यी ठुला र जटिल सडक पूर्वाधार निर्माण जिम्मेवारी समालेर नेपाली सेनाले विकासमा मुलुककै आँखा खोलेको उन बताए ।

सेनाको इतिहास र अन्तरराष्ट्रिय छवि

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छाड्न सफल छ ।

सैनिक वीरपुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, ‘चेनअफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहिआएको छ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । सैनिक संगठनमा समावेशिता बढ्दै गएको छ ।

पछिल्लो समय महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७४ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ७७ सैनिक घाइते भएका छन् । विश्वका १० मिसनमा हाल ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमा छ । विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्तर सहभागीले यसलाई पुष्टि गरेको छ ।

सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्त्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै आएको सेनाले जनाएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ ।

प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार