बाँकेको कोहलपुर नगरपालिका चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेशीय पर्यटकीय मार्ग वर्षौंदेखि चुनावी एजेण्डामै सीमित भएको छ । प्रत्येक निर्वाचनमा राजनीतिक दलले यो सडक निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म निर्माण अघि बढ्न सकेको छैन ।
विसं २०१५ देखि नै राजनीतिक नारा बनिरहेको यो सडक यसपटक पनि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मुख्य एजेण्डामा परेको छ । उम्मेदवारहरूले सडक निर्माणलाई आर्थिक विकास र क्षेत्रीय जोडको आधारका रूपमा प्रस्तुत गरेका छन् । नेकपा एमालेका बाँके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकालले खड्कबार–घुइँयाबारी सडक निर्माणले बाँके र सल्यानबीचको दूरी घटाउने र आर्थिक गतिविधि विस्तार गर्ने बताए ।
उनका अनुसार यो सडक सञ्चालनमा आए तराई र पहाडबीच उत्पादन आदानप्रदान सहज हुने र कम खर्चमा यात्रा सम्भव हुनेछ । नेपाली कांग्रेसका उम्मेदवार नारायण गौडेलले पनि सडक निर्माणलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताएका छन् । उनले विगतमा यस सडकका लागि बजेट विनियोजनको माग गर्दै पदयात्रासमेत गरिएको उल्लेख गर्दै सडक निर्माणको पहल जारी राख्ने बताए ।
खड्कबार हुँदै सल्यानको घुइँयाबारी पुग्न २० किलोमिटरभन्दा कम दूरी रहेको र यसलाई नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले परिकल्पना गरेको उनको दाबी छ । यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले पनि सडक निर्माणलाई चुनावी एजेण्डामा राखेका छन् ।
स्थानीयका अनुसार चुरे, भावर र समथर भू–भाग हुँदै मठमन्दिर तथा बाँके राष्ट्रिय निकुञ्जसमेत पर्ने भएकाले यो मार्ग पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । कोहलपुर नगरपालिका–१३ का स्थानीय लालबहादुर रानाले लामो समयदेखि सडक निर्माणको चर्चा भए पनि काम अघि नबढेको बताए । उनका अनुसार यो सडक निर्माण भए कोहलपुरका दुर्गम गाउँ, विशेषगरी खड्कबार क्षेत्र सडक सञ्जालमा जोडिनेछ भने पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
सत्यपाटी