आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । संसारभर फेब्रुअरी १४ लाई भ्यालेन्टाइन्स डेका रूपमा मनाइँदै आइएको छ । गत शनिबार ‘रोज डे’ मनाउँदै सुरु भएको प्रणय दिवस यो शनिबार सकिँदैछ । यो सप्ताहभर चार लाख ५० हजार स्टिक गुलाब खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपालको अनुमान छ ।
सप्ताहभर गुलाबको माग हुने भएकाले यस पटक उपत्यकामा दुई लाख ७० हजार स्टिक र बाहिरका जिल्लामा एक लाख ८० हजार स्टिक गुलाब खपत हुने एसोसिएसनले जनाएको छ । ‘यस वर्षको प्रणय दिवस सप्ताहभर चार लाख ५० हजार स्टिक गुलाब फूलको माग छ,’ एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बजार मागको करिब ३० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट परिपूर्ति हुने अनुमान छ, ७० प्रतिशत अपुग हुनेछ ।’
जाडोयाममा गुलाबको उत्पादन कम हुने हुँदा बजार मागको करिब ३० प्रतिशत मात्रै आन्तरिक उत्पादनबाट परिपूर्ति गरिएको एसोसिएसनका महासचिव हीरामणि शर्माले बताए । सरकारले गुलाब आयातमा ‘क्राइटेरिया’ राखेकाले औपचारिक रूपमा गुलाब आयात गर्न नसकिने शर्माको भनाइ छ । ‘औपचारिक रूपमा आयात हुने अवस्था छैन, व्यापारीले अनौपचारिक तवरबाट गुलाब भित्र्याउन सक्छन्,’ उनले भने, ‘फेब्रुअरी १४ मै बढी गुलाब खपत हुन्छ ।’
प्रणय दिवस सप्ताहभर पाँच करोड ६२ लाख रुपैयाँको गुलाबको खरिदबिक्री हुने एसोसिएसनले अनुमान गरेको छ । फूलको गुणस्तर अनुसार प्रतिस्टिक उपभोक्ता मूल्य १०० देखि १५० रुपैयाँ हुने अनुमान गरिएको शर्माको भनाइ छ । नेपालमा मौसमअनुकूल मात्रै उत्पादन हुने भएकाले जाडो मौसममा स्थानीय उत्पादन कम हुने गरेको छ । नेपालमा जाडो सिजन रहने भएकाले प्रणय दिवसमा गुलाब फूल उत्पादनमा कमी आउने एसोसिएसनले बताएको छ ।
मौसम प्रतिकूलताका कारण जाडोयाममा गुलाब कम फुल्ने हुँदा भ्यालेन्टाइन्स डेका लागि गुलाबमा परनिर्भर हुनुपर्ने अवस्था रहेको शर्माको भनाइ छ । ‘गर्मीयाममा गुलाबको फूलमा आत्मनिर्भर छौं । तर जाडोयाममा परनिर्भर छौं,’ उनले भने, ‘जाडोयाममा उच्च प्रविधिको ग्रिन हाउसमा मात्रै गुलाब फुलाउन सक्छौं ।’ कुल बजार मागको ६० प्रतिशत गुलाब उपत्यका र ४० प्रतिशत बाँकी अन्य सहरमा खपत हुने शर्माले बताए ।
गत वर्षको प्रेम दिवस सप्ताहमा ३ लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिए पनि चार लाख १२ हजार स्टिक खपत भएको एसोसिएसनको तथ्यांक छ । उक्त साताभर ४ करोड रुपैयाँको गुलाबको कारोबार भएको थियो । हरेक वर्ष गुलाब फूलको माग १० देखि १५ प्रतिशतले वृद्धि हुँदै जाने गरेको एसोसिएसनले जनाएको छ । गत वर्ष २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत आयातित गुलाबले माग पूरा गर्ने अनुमान गरे पनि एसोसिएसनले आन्तरिक उत्पादन ८.५० र आयात ९१.५० प्रतिशत खपत भएको बताएको थियो । गत वर्ष प्रतिस्टिक ८० देखि १ सय २० रुपैयाँमा गुलाबको कारोबार भएको एसोसिएसनको भनाइ छ ।
सत्यपाटी