अमेरिकाका दुई अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्न आदेश दिएमा अमेरिकी सेना तयार रहेको बताएका छन् । एक्सक्लुसिभ भन्दै रोयटर्सले दिएको रिपोर्टअनुसार अमेरिकी सेनाले इरानविरुद्ध हप्ता लामो निरन्तर कारबाही गर्न सक्ने गरी तयारी गरिरहेको ती अधिकारीले बताएका हुन् ।
योजना संवेदनशील भएका कारण नाम नछाप्ने सर्तमा ती अमेरिकी अधिकारीहरूले इरानविरुद्ध आक्रमणको तयारी गरिरहेको खुलासा गरेका हुन् । यस्तै शुक्रबार उनीहरूले अमेरिकाले आफ्नो सबैभन्दा ठुलो विमानवाहक जहाज यूएसएस जेराल्ड आर. फोर्ड त्यसतर्फ पठाउँदै गरेको पनि बताएका छन् । जसमा हजारौँ सेना, लडाकु विमान, निर्देशित–क्षेप्यास्त्र विनाशकलगायत छन् ।
शुक्रबार उत्तरी क्यारोलिनाको एक अड्डामा अमेरिकी सेनासँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘(इरानसँग) सम्झौता गर्न गाह्रो भएको छ ।’ यसअघि गत हप्ता ओमानमा अमेरिका र इरानबिच वार्ता भए पनि बिनानिष्कर्ष सकिएको थियो । त्यसपछि इरानले यदि अमेरिकाले आक्रमण गरे त्यसको कडा जवाफ दिन तयार रहेको चेतावनी दिएको थियो ।
सत्यपाटी