प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । प्रेमको नाममा सुरु भएको यात्रा, आज विकृतितर्फ मोडिँदै गएको यथार्थलाई आजको दिनमा नकार्न सकिदैन । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने ‘भ्यालेन्टाइन डे’ आज संसारभर ‘प्रेम दिवस’का रूपमा चिनिन्छ । तर दुःखको कुरा, जुन दिवस प्रेम, त्याग र मानवता सिकाउन जन्मिएको थियो, आज धेरै ठाउँमा वासना, व्यापार र अपराधसँग जोडिँदै गएको देखिन्छ । यो लेख त्यसैको यथार्थ चित्र हो ।
‘भ्यालेन्टाइन डे’को सुरुवात प्राचीन रोमनकालसँग जोडिएको छ । इतिहास अनुसार सेन्ट भ्यालेन्टाइन नामका एक धर्मगुरुले प्रेमी जोडीहरूको लुकीलुकी विवाह गराइदिनुहुन्थ्यो, किनकि तत्कालीन शासकले सैनिकलाई विवाह गर्न रोक लगाएका थिए । सेन्ट भ्यालेन्टाइनले प्रेमलाई अधिकार माने, सम्बन्धलाई पवित्र ठाने, र त्यसैकारण उनलाई मृत्युदण्ड दिइयो । पछि उनको त्याग र साहसको सम्झनामा फेब्रुअरी १४ लाई प्रेम दिवसका रूपमा मनाउन थालियो ।
त्यसबेला यो दिवसको मूल अर्थ थियो, निस्वार्थ प्रेम । सम्बन्धप्रतिको इमानदारी, मानवताको सम्मान । समयसँगै बदलिँदै गएको स्वरूप शुरुमा धार्मिक र भावनात्मक सन्दर्भमा सीमित रहेको यो दिवस विस्तारै पश्चिमी मुलुकमा लोकप्रिय भयो । पछि कार्ड, गुलाब, चकलेट, उपहार, डेटिङ कल्चर जोडिँदै गयो । मिडिया, फिल्म र बजारले यसलाई ठूलो व्यवसाय बनाइदियो । आज ‘भ्यालेन्टाइन डे’ केवल भावना होइन अरबौँको व्यापार, सामाजिक सञ्जालको ट्रेन्ड, देखावटी प्रतिस्पर्धा बनेको छ ।
नेपालजस्तो संस्कारमुखी समाजमा ‘भ्यालेन्टाइन डे’ नयाँ संस्कृतिका रूपमा भित्रियो । पहिला हाम्रो समाजमा प्रेम लजालु हुन्थ्यो, आमाबुबाको आशीर्वादमा जीवन सुरु हुन्थ्यो, सम्बन्ध धैर्य र विश्वासमा टिक्थ्यो । तर अहिले ! पार्क, होटल, क्याफे भरिन्छन किशोरकिशोरी खुलेआम डेटमा देखिन्छन् । सामाजिक सञ्जाल प्रेम प्रदर्शनको रंगमञ्च बनेको छ । पश्चिमी प्रभाव अन्धाधुन्ध नक्कल गर्दा, हामी मौलिक मूल्य बिर्सँदै गएका छौँ ।
प्रेमका सकारात्मक प्रभाव यदि सही रूपमा बुझियो भने मर्यादामा बसेर मनाइयो भने ‘भ्यालेन्टाइन डे’ले भावना व्यक्त गर्ने हिम्मत दिन्छ । सम्बन्धमा आत्मीयता बढाउँछ । मानसिक तनाव घटाउँछ । पति–पत्नीबीच न्यानोपन ल्याउँछ । प्रेम आफैंमा खराब होइन । तर समस्या प्रेमको परिभाषा बिग्रिँदा सुरु हुन्छ । आज देखिँदै गएको कटु यथार्थ ‘भ्यालेन्टाइन डे’सँगै जोडिँदै छन् किशोर उमेरमै गलत सम्बन्ध । भावना बुझ्न नपाउँदै आकर्षणलाई प्रेम ठान्ने अवस्था ।
जबरजस्ती प्रस्ताव र यौन दुर्व्यवहार ! आजका दिनमा धेरै छोरीहरू ‘प्रेम’को नाममा असहज स्पर्श र डर सहन बाध्य छन् । र तत्पश्चात ब्ल्याकमेल र धोका ! तस्वीर, भिडियो प्रयोग गरेर मानसिक यातना भोग्न पुग्छन् । गर्भपतन, आत्महत्या, जीवनभरको मानसिक घाउ बोकेर बस्न बाध्य हुन्छन् । यो प्रेम होइन, यो त सामाजिक अपराध हो । अर्को पाटो हेर्ने हो भने ‘भ्यालेन्टाइन डे’ व्यापारिकरण हुँदै गएको छ । यसमा भावना होइन, बजार चलिरहेको छ ।
आज ‘भ्यालेन्टाइन डे’मा गुलाब महँगिन्छ । चकलेट ब्रान्डेड हुन्छ र उपहार प्रतिस्पर्धा बन्छ । प्रेमलाई मूल्य ट्याग लगाइन्छ । जससँग पैसा छैन, ऊ अपुरो प्रेमी ठहरिन्छ । जसले उपहार दिँदैन, ऊ संवेदनहीन ठानिन्छ । यसले युवामा अनावश्यक दबाब सिर्जना गरिरहेको छ । जसका कारण प्रेमको देखावटी झुठ, छलकपट, ठगी र चोरीजस्ता काम गर्न युवाहरु चुक्दैनन् । कसरी बनाउने त यो दिवस चेतनामूलक सिचनिय हुँदै गएको छ ।
अब समय आएको छ सोच बदल्ने । यसको सबैभन्दा नराम्रो असर किशोरकिशोरीमा देखिन थालेको छ । भावना बुझ्न नपाउँदै आकर्षणलाई प्रेम ठान्ने अवस्था बढेको छ । कतिपय छोरीहरू ‘प्रेम’को नाममा अभद्र व्यवहार, मानसिक यातना र जबरजस्तीको शिकार बन्दै छन् । कतै ब्ल्याकमेल, कतै धोका, कतै जीवनभर निको नहुने चोटहरू देखिन थालेका छन् । यो प्रेम होइन, यो सामाजिक विकृति हो । यो कुरा हरेक अभिभावकले बुझ्नु र आ–आफ्ना छोराछोरीलाई बुझाउनु नितान्त आवश्यक छ ।
तसर्थ अभिभावकहरू पनि यस विषयमा गम्भीर हुन जरुरी छ । ‘मेरो बच्चा असल छ’ भन्ने सोच मात्रै पर्याप्त हुँदैन । सन्तानसँग खुलेर कुरा गर्नु आवश्यक छ । छोरालाई अरूको इज्जत गर्न सिकाउनुपर्छ र छोरीलाई आफ्नो आत्मसम्मान जोगाउन । मोबाइलमा रमाउन र छरछिमेकमा आयोजना गरिने पार्टीमा समय दिनुभन्दा पहिला बच्चाको मन बुझ्नुपर्छ । यो असल आमाबुवा अभिभावकको पहिलो कर्तव्य हो ।
युवा पुस्ताले पनि बुझ्नुपर्छ कि प्रेम भनेको शरीर होइन, जिम्मेवारी हो । सहमतिबिना कुनै सम्बन्धमा प्रेम हुँदैन । क्षणिक रमाइलोले भविष्य नबिगार्नु नै बुद्धिमानी हो । देखावटी सम्बन्धभन्दा चरित्र निर्माण ठूलो कुरा हो । समाजले पनि गलत देख्दा मौन बस्नुहुँदैन । पीडितलाई दोष होइन, साथ दिनुपर्छ । प्रेम दिवसलाई वासना होइन, विवेकसँग जोड्नुपर्छ । प्रेम कुनै एक दिनको उत्सव होइन । साँचो प्रेम जीवनभर निभाइने जिम्मेवारी हो । आज सचेत भएनौँ भने भोलि धेरै आँखा रुनेछन् ।
त्यसैले प्रेम दिवसलाई ट्रेन्ड होइन, संस्कार बनाऔँ । एउटा सचेत सोचले सयौँ जीवन सुरक्षित हुन सक्छ । तसर्थ यो सबै गन्थनको एउटै अर्थ र सोच बनाउ । हामी सजग हुनुपर्छ । घरबाट सुरु गरौँ । छोरालाई सम्मान सिकाऔँ र छोरीलाई आत्मसम्मान । स्कुल–कलेजमा खुला संवाद प्रेम र आकर्षणको फरक पढाऔँ । स्वीकृतिको महत्व बुझाऔँ। याद राखौं समाज मौन नबसोस् । गलत परिणाम को जवाफदेहि समाज पनि हो । गलत देख्दा आवाज उठाऔँ । युवालाई सम्झाऔँ प्रेम भनेको जिम्मेवारी, धैर्य, विश्वास, भविष्यप्रतिको प्रतिबद्धता हो टाइम पास र शरीर होइन, प्रेम दिवस एक दिनको उत्सव होइन ।
प्रेम त जीवनभरको अभ्यास हो । यदि हामी आज सचेत भएनौँ भने, ‘भ्यालेन्टाइन डे’ प्रेमको पर्व होइन, डरको दिन बन्दै जानेछ । फूल ओइलिन्छ, चकलेट सकिन्छ, तर बाल मनस्थितिमा लागेको चोट जिन्दगीभर बाँच्छ र जिन्दगीको फुल फक्रिनुभन्दा अगावै ओइलिएर जान्छ । ‘भ्यालेन्टाइन डे’लाई वासना होइन, विवेक बनाऔँ । ट्रेन्ड होइन—संस्कार बनाऔँ । किनकि साँचो प्रेमले हल्ला मचाउँदैन मौनताले पालना गर्छ जीवनभर, जिम्मेवारी बोक्छ ।
