फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदातालाई सही मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिनुका साथै मतदान गर्न उत्प्रेरित गर्ने उदेश्यले गाउँ गाउँमा मतदाता शिक्षा दिने तयारी सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । कार्यालयका प्रमुख निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार मतदाता शिक्षाका लागि स्थानीय तहहरुमा स्वयंसेवक परिचालन गर्न पत्राचार गरिएको जानकारी दिए ।
उनका अनुसार जिल्लामा मतदाता शिक्षाका लागि आठवटै स्थानीय तहमा अधिकृत स्तरका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर गाउँगाउँमा पुर्याउन थालिएको हो । प्रमुख निर्वाचन अधिकारी शाहीले मतदाता शिक्षाका लागि स्थानीय तहहरुमा स्वयंसेवक परिचालन गर्न पत्राचार गरिएको जानकारी दिए । निर्वाचन अधिकारी शाहीले भने, ‘निर्वाचन आयोगबाट कार्यक्रम आइसकेको छ, केही प्राविधिक काम बाँकी छ, त्यसपछि हामी मतदाता शिक्षा कार्यक्रम सुरु गर्छौँ ।’
उनका अनुसार मतदाता शिक्षाका लागि स्थानीय तहहरूमा तोकिने सम्पर्क व्यक्तिहरूलाई तालिम प्रदान गरिने र सम्पर्क व्यक्तिले पुनः स्थानीय तहका वडाहरूमा छनोट भएका स्वयंसेवकलाई तालिम दिएर मतदाता शिक्षा गाँउगाउँ तथा टोल टोल पुर्याउने लक्ष्य लिइएको छ । उनले मतदाता शिक्षाका लागि जिल्लाका ८१ वडामा ८१ जना स्वंयसेवक पनि परिचालन गरिने बताए । तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको सङ्ख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ ।
जिल्लामा १३९ मतदान केन्द्र र ४०० मतदान स्थल रहेका छन् । यसपटक मतलाई कमभन्दा कम बदर हुन दिने गरी मतदाता शिक्षाको कार्यक्रम तयार गरिएकोले बदर मतको सङ्ख्या विगतका निर्वाचनभन्दा निकै कम हुने आशा गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्लाका सहरी क्षेत्रहरूभन्दा ग्रामिण क्षेत्रहरू र त्यसमा पनि दुर्गम मानिने ग्रामिण क्षेत्रहरूमा मतदाता शिक्षा अतिनै आवश्यक भएकोले औपचारिकतामा मात्र सिमित नभई गम्भीरतापूर्वक मतदाता शिक्षा दिनु आवश्यक देखिन्छ ।
सत्यपाटी