२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

खाद्य कम्पनीद्वारा एक लाख ४४ हजार क्वीन्टल धान खरिद

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँमा रहेका १२ कार्यालयबाट एक लाख ४४ हजार क्वीन्टल धान खरिद गरेको जनाएको छ । गत कात्तिक ११ देखि धनगढीबाट धान खरिद गर्न सुरु गरेको कम्पनीले हालसम्म विभिन्न ११ वटा केन्द्रबाट उक्त परिमाणमा धान खरिद गरेको हो ।

कम्पनीका खरिद शाखा प्रमुख आनन्द पौडेलले धान खरिदको निर्धारित कोटा पूरा भएपछि ११ केन्द्रबाट धान खरिद कार्य स्थगन गरिसकेको जानकारी दिए । उनका अनुसार धनगढी, महेन्द्रनगर, भैरहवा, नेपालगन्ज, तुलसीपुर, राजापुर, बिर्तामोड, विराटनगर, पोखराका केन्द्रबाट कोटा अनुसार र कतिपयमा कोटाभन्दा बढी धान खरिद भइसकेकाले हाललाई स्थगन गरिएको हो ।

उनले हाल जनकपुर र वीरगन्जबाट धान खरिदकै क्रममा रहेको र यसपटक लहानबाट भने धान खरिद गर्न नसकेको जानकारी दिए । लहानबाट धान खरिद गर्न कम्पनीको कोटाभन्दा तेब्बरभन्दा बढी खरिद गर्नुपर्ने अवस्था आएपछि त्यो परिमाणको खरिद गर्न कम्पनीसँग आर्थिक स्रोत भएपछि खरिद कार्यक्रम स्थगन गरेको उनले जानकारी दिए ।

खाद्य कम्पनीले यस वर्षका लागि धान खरिदका लागि लिएको लक्ष्यमा ८१ प्रतिशत खरिद गरिसकेको र अबको १० दिनमा सबै विवरण आउँदा करिब ८५–८६ प्रतिशतसम्म पुग्ने अनुगमन रहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले दुई केन्द्रबाट मसिना धान खरिद गरिएको र त्यहाँका लागि जुटको बोरा अभाव भएर केही ढिला भएको जानकारी दिए ।

उनका अनुसार जेनजी आन्दोलनका बेला लहानको गोदाममा रहेका जुटका बोरा चोरी भएकाले अभाव भएको हो । लहान केन्द्रले कोटा बढाउनुपर्ने माग गरेको र कम्पनीसँग कोटा बढाएर खरिद गर्न सक्ने अवस्था नभएपछि त्यो खरिद प्रक्रिया नै स्थगत गर्नु परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यको भनाइ छ ।

कम्पनीले जुम्लाबाट मार्सी र पोखराबाट जेठोबुढो (उन्नत जात) धान खरिद गर्ने योजना रहे पनि ती धान पाउन समस्या भएपछि खरिद प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ मा कम्पनीले एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित ७० करोड रुपियाँ बजेट छुट्याएको छ ।

गत वर्ष कम्पनीले सात लाख तीन हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर दुई अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । गत वर्ष व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर किसानको धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन । गत वर्ष एक लाख २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो ।

यस वर्ष निजी व्यापारीले किसानलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा ८०० देखि एक हजार सस्तो मूल्य दिएको हुँदा कम्पनीलाई लक्ष्य पूरा गर्न समस्या नभएको कम्पनीले जनाएको छ । कम्पनीले औसतमा मोटो धान बजार मूल्यभन्दा ८०० रुपैयाँ र मध्यम धान ६०० रुपैयाँभन्दा बढीमा खरिद गरेको जनाएको छ । सरकारले चालु आव २०८२–०८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ निर्धारण गरेको छ ।

प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार