२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

नयाँ भवनबाट सुरु भयो नरैनापुर गाउँपालिकाको सेवा

लामो समयको प्रतीक्षापछि बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएसँगै पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बुधबार नवनिर्मित भवनको उद्घाटन गरेसँगै सम्पूर्ण सेवा सोही भवनबाट दिन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए ।

उनका अनुसार दुई वर्षअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै सञ्चालनमा आउन सकेको थिएन । पटक–पटक म्याद थप हुँदा पनि काम नसकिएपछि गाउँपालिकाले वडा कार्यालयबाट अस्थायी रूपमा कार्य सम्पादन गर्दै आएको थियो । नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह सहज हुने अपेक्षा स्थानीयले गरेका छन् ।

गाउँपालिका अध्यक्ष शाहले ढिलै भए पनि आफ्नै भवनबाट जनतालाई सेवा दिन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यसअघि साविकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिँदा स्थान अभावले समस्या हुने गरेको थियो, अब नागरिकले सुविधा सम्पन्न भवनबाट सहज रूपमा सेवा पाउने छन् ।’

गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत भरत बस्नेतका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपैयाँको लागतमा उक्त प्रशासनिक भवन निर्माण गरिएको हो । भवन निर्माणमा सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको छ । गाउँपालिकाका सूचना अधिकारी एवं वडासचिव लक्ष्मीकान्त मिश्रले नयाँ र सुविधा सम्पन्न भवनबाट सेवा सुचारु भएपछि सेवाग्राहीलाई धेरै सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार