२०८३ भदौ २९ , सोमबार 14, September 2026, Monday

आइसीसी टी-२० विश्वकप : आज इटालीसँग भिड्दै नेपाल

आइसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार (आज) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो । नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको हो ।

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आइसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को समूह चरणका चार खेल नेपालले भारतमै खेल्दैछ । अहिलेसम्म विश्वकपमा जितबिहीन नेपालले इटालीलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्य राखेको छ ।

नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो । सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ ।

अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो । यसअघि दुई पटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन । नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ । सोमपाल कामी तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन् । विश्वकपको समूह ‘सी’मा रहेको नेपालले इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गरेको हो । समूह सीमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन् ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार