२०८३ असोज २३ , शुक्रबार 10, October 2026, Saturday

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ जना पक्राउ

सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल ¥याली निकाल्ने ‘खतरनाक खोपडी’ समूहका २५ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रशासनको अनुमतिबिना मोटरसाइकल र्‍याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याएको आरोपमा ‘खतरनाक खोपडी’ (ड्यान्जर स्कुल) नामक युवा समूहका २५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आज दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा उक्त समूहमा रहेका युवाले कालो र सेतो झण्डा बोकी मोटरसाइकलमा र्‍याली निकाल्दै होहल्ला गरेको आरोपमा वीरेन्द्रनगर–३ तातापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङग बुढ्थापाले जानकारी दिए ।

उनले भने, ‘घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको प्रहरी टोलीले आठ मोटरसाइकल र चार स्कुटरसहित २५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’ प्रारम्भिक अनुसन्धान अनुसार उक्त समूहले सार्वजनिक शान्ति खलल पुर्‍याउने गतिविधि गर्नुका साथै आसन्न प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेका कार्य गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार