बर्दियामा चितुवाको आक्रमणबाट एकैदिन दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–९, गाउँ नं १३ निवासी ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४, तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकायले ज्यान गुमाएका हुन् ।
डाँगी नेपाल–भारत सीमा नजिक बारीमा छिमेकीहरूसँग घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरी भारतको वनतर्फ लगेको थियो । पछि दशगजा नजिक अरहर बारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।
त्यसैगरी, मृतक रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिका– ११ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाको आक्रमणमा परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए ।
रोकाय श्रीमतीसहित चार जना सामुदायिक वनमा पुगेका थिए । वनमा पुग्नेबित्तिकै चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । रोजगारीका लागि भारत गएका रोकाय १२ दिनअघि मात्र घर आएका थिए । चितुवाको आक्रमणबाट माघ महिनामा मात्र तीन जनाको मृत्यु भइसकेको छ ।
यसअघि गत माघ ७ गते सोही स्थानमा तोरी उखेल्ने क्रममा चितुवाको आक्रमणबाट खिदनी थारूको मृत्यु भएको थियो । पछिल्लो समय बर्दियामा चितुवा तथा अन्य वन्यजन्तुको आक्रमणका घटना बढेको छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार साउनयता चितुवाको आक्रमणबाट सात जना, पाटेबाघको आक्रमणबाट एकजना र जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।
