२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

बाँकेमा दुई हजार ३३८ जना अस्थायी मतदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन गरेर नामावली प्रकाशित गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेले जिल्लामा हालसम्म सङ्कलन गरिएको सङ्ख्या अनुसार दुई हजार ३३८ जना अस्थायी मतदाताको नामावली प्रकाशित गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जिल्लामा रहेका सुरक्षाकर्मीहरू, सबै सरकारी कर्मचारी, संस्थानका कर्मचारी, कारागारमा रहेका बाहिरी जिल्लाका कैदी बन्दीहरूको विवरण सङ्कलन गरेर नामावली प्रकाशित बताए । यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको सङ्ख्या र नामावली माग गरेको थियो ।

तीमध्ये जनपद प्रहरीको नामावली अझै प्राप्त नभएकोले नामावली पाप्त भएपछि सो सङ्ख्या वृद्धि हुने जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख शाहीका अनुसार अस्थायी मतदाताका लागि कतिवटा र कुन कुन ठाउँमा अस्थायी मतदान केन्द्र राख्ने बारेमा पनि छलफल भइरहेको छ ।

उनले बाँकेमा यसपटक तीन लाख ५० हजार ३७१ जना मतदाता सङ्ख्या पुगेको जनाउँदै निर्वाचनका लागि १३९ मतदान स्थल र ४०० मतदान केन्द्र तोकिएको बताए । जिल्ला सुरक्षा समिति बाँकेका अनुसार जिल्लाका आठ वटा पालिकाहरूमा कायम गरिएका १३९ वटा मतदान स्थलमध्ये ६१ वटा अति संवेदनशील र ५० वटा मतदान स्थललाई संवेदनशील तथा २८ मतदान स्थललाई सामान्य तोकेर सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदैछ ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार