बाँकेको सदरमुकाम नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । वडा नम्बर ५ स्थित बेलहरी स्वास्थ्य चौकीबाट उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको माग अनुसार करिब १२ लाख रुपैयाँ बराबरको अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएपछि सो सेवा सुचारु गरिएको नम्बर ५ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष टिकानाथ यादवले बताए ।
यसअघि उनलाई सो भिडियो एक्सर मेसिन हस्तान्तरण गरिएको थियो । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले वडाध्यक्ष यादव र स्वास्थ्य चौकी इन्चार्ज गङ्गा मरासिनीलाई मेसिन हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।
गाउँपालिका अध्यक्ष खाँका अनुसार सेवा सुरु भएसँगै अब वडा भित्रका गर्भवती महिलाले सामान्य गर्भ जाँचका लागि पालिकाबाहिर वा सदरमुकाम नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ । यसअघि समय, खर्च र झन्झटका कारण गर्भ जाँचमा समस्या हुँदै आएको थियो ।
नयाँ सेवाले ग्रामीण महिलालाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ । अल्ट्रासाउन्ड सेवा सञ्चालनका लागि तालिम प्राप्त एक जना अनमीको व्यवस्था गरिएको छ ।
सेवा शुभारम्भको अवसरमा गाउँपालिका अध्यक्ष खाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार पालिकाको प्राथमिकता रहेको बताउँदै यसले आमा र शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष यादवले अल्ट्रासाउन्ड सेवा सुरु भएपछि स्वास्थ्य सेवा थप सहज भएको उल्लेख गर्दै वडाको बजेटबाट क्यालसियम औषधी निःशुल्क वितरण भइरहेको जानकारी दिए । उनले पालिकाका सबै ६ वटै वडामा चरणबद्ध रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए ।
पालिकाको स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले वडा नं. ५ मा सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा वडा नं. ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य राम अचल धोबी, कान्ति काँदु, स्वास्थ्य चौकी इन्चार्ज, महिला स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीयको सहभागिता थियो ।

