२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

‘यस वर्षको जाडो सकिँदै, बढ्दै तापक्रम’

देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । तराईमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियसम्म पुग्नेछ ।

‘तराईमा बिहान हुस्सु र कुहिरो लागेको छ, यो मध्याह्नपछि हट्दै जानेछ,’ मौसमविद् विभूति पोखरेलले भनिन् । दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । तर, मध्याह्नपछि हट्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । काठमाडौंमा भने वर्षाको सम्भावना नरहेको मौसमविद् पोखरेलले जानकारी दिइन् । ‘हिजो काठमाडौंमा वर्षा हुन्छ कि भन्ने थियो, तर भएन,’ उनले भनिन्, ‘आज काठमाडौंमा वर्षा हुने सम्भावना छैन ।’

विभागले राति तराई भू-भागका थोरै स्थानमा हुस्सु रहने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । तर, यो कमजोर भइसकेको छ । वर्षा गराउने प्रणाली मंगलबार साँझबाट नै कमजोर भइसकेको मौसमविद् पोखरेलको भनाइ छ । ‘अब क्रमशः तापक्रम बढ्दै जानेछ । तापक्रम बढ्दै गएर जाडो कम हुँदै जानेछ,’ मौसमविद् पोखरेल भन्छिन्, ‘अब यो वर्षको हालसम्मको न्यून तापक्रमभन्दा कम हुने सम्भावना छैन ।’

प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार