२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

निर्वाचनका बेला मुस्ताङमा हिमपातको त्रास

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ माघ २१ गते बुधबार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेका छन् ।

मुस्ताङमा निर्वाचनका लागि सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रम प्रभावित हुन सक्ने आकलन गरिएको छ । हिमपात भएको अवस्थामा मतदाता मतदान केन्द्रसम्म पुग्न असहज हुने भएकाले त्यसको पूर्वतयारी थालिएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकमा बाक्लो हिउँ जमेकाले एक महिनादेखि यातायात सेवा अवरुद्ध छ । मुस्ताङमा फागुन–चैत महिनामा हिमपात हुने विगतका अनुभव छन् ।

हिमपात भएमा मतदाता, मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई समस्या हुन सक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताएका छन् । निर्वाचन कार्यतालिका अनुसार मतदान हुने दिनभन्दा केही दिनअघि साङ्ता मतदान केन्द्र जाने सडकमा जमेको हिउँ डोजरमार्फत हटाएर सडक सहज बनाउने योजना रहेको उनले बताएका छन् ।

यसपटक जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका–२ समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा समायोजन गरिएको छ । त्यस्तै लोघेकर दामोदरकुण्ड–ताङ्ग्याका मतदाताको सहजताका लागि थप एक मतदानस्थल कायम गरिएको छ ।

हाल थासाङ गाउँपालिकामा आठ, घरपझोङ गाउँपालिकामा छ, लोघेकर दामोदरकुण्डमा १०, वारागुङ मुक्तिक्षेत्रमा नौ र लोमान्थाङ गाउँपालिकामा छ मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार मुस्ताङका सबै मतदान केन्द्रमा सडक पहुँच, विद्युत्, टेलिफोन र इन्टरनेट सुविधा रहेको छ ।

मुस्ताङमा ११ हजार ३२८ मतदाता छन् । जसमध्ये पाँच हजार ५५९ पुरुष, पाँच हजार ७६८ महिला र एक जना अन्य मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिएका छन् । मुस्ताङको घरपझोङमा दुई हजार ४९२, थासाङमा दुई हजार ९०८, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२, वारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ मतदाता रहेका छन् ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट २६६ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना निर्वाचन प्रहरी छनोट गरी अनुशिक्षण तालिम सञ्चालन गरिएको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गानाइजेसन र आमजनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार