निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदाता संख्या तथा निर्वाचन क्षेत्रअनुसारका विवरण सार्वजनिक गरेको छ । आयोगका अनुसार नेपालभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ जना मतदाता रहेका छन् ।
सार्वजनिक तथ्यांक अनुसार रामेछाप सबैभन्दा धेरै मतदाता भएको निर्वाचन क्षेत्र बनेको छ । रामेछापमा कुल एक लाख ८७ हजार ९५२ मतदाता दर्ता छन् । मतदाता संख्या धेरै भएका निर्वाचन क्षेत्रको सूचीमा दोस्रो स्थानमा अर्घाखाँची–१ र तेस्रो स्थानमा दोलखा–१ रहेका छन् ।
यसैगरी बर्दिया–१ र काभ्रेपलाञ्चोक–२ पनि धेरै मतदाता भएका शीर्ष पाँच निर्वाचन क्षेत्रभित्र परेका छन् । उता, मनाङ सबैभन्दा कम मतदाता भएको जिल्ला बनेको छ । यहाँ मात्र ७ हजार मतदाता रहेका छन् ।
मनाङपछि मुस्ताङ, डोल्पा, हुम्ला र पूर्वी रुकुम कम मतदाता भएका निर्वाचन क्षेत्रको सूचीमा परेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको यो तथ्यांकले भौगोलिक अवस्था, जनसंख्या वितरण र निर्वाचन व्यवस्थापनमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।
