सिकलसेल जस्तै पश्चिम नेपालमा सबैभन्दा बढी देखिएको थालेसिमियाका बिरामीले पनि अबदेखि सरकारबाट एक लाख रुपैयाँ बराबरको उपचार खर्च पाउने भएका छन् । सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रममा सो सुविधा समेटेसँगै थालेसिमियाका बिरामीले पनि एक लाख बराबरको औषधी उपचार खर्च पाउने भएका हुन् ।
यसअघि थालेसिमियाका बिरामीले सरकारी सुविधा पाएका थिएनन् । सिकलसेल तथा थालेसिमिया रोग विज्ञसमेत रहेका भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले थालेसेमियाका बिरामीले पनि अब भेरी अस्पतालबाटै शल्यक्रिया, औषधी तथा औषधीजन्य सामग्री, प्रयोगशाला लगायतमा उक्त सुविधा प्राप्त गर्ने बताए ।
उनका अनुसार मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले यो सेवा पाउँदै आएकोमा अबदेखि थालेसिमियाका बिरामीले पनि उपचार सहयोग पाउने भएपछि उनीहरूलाई ठुलो राहत मिल्ने भएको छ । सिभियर एप्लास्टिक एनेमिया, प्यारोक्सिस्मल नक्टर्नल हेमोग्लोबिन्युरिया, सिम्प्टोमेटिक हेमोग्लोबिनोपाथिजका बिरामीले पनि यो सुविधा पाउने भेरी अस्पताललले जनाएको छ ।
भेरी अस्पतालमा थालेसिमियाका करिब १०० जना बिरामी फलोअपमा रहेको जनाउँदै अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले सरकारी सेवा पाउने भएपछि थालेसिमियाका बिरामीको एकिन गर्न सहज हुने बताए । उनले सिकलसेलका एक हजार २०० बिरामी भेरी अस्पतालमा नियमित फलोअपमा रहेको पनि बताए ।
सत्यपाटी