आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले संगठनभित्र जनशक्ति व्यवस्थापन कडाइ गरेको छ । निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले कर्मचारीको राजीनामा, रवाना र बिदा अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना ०८२ अनुसार निर्वाचन अवधिमा अधिकतम जनशक्ति परिचालन गर्नुपर्ने भएकाले यस्तो व्यवस्था लागू गरिएको सशस्त्र प्रहरीले जनाएको छ । माघ १९ गतेदेखि लागू भएको निर्णयअनुसार निर्वाचन प्रक्रिया सकिन्जेल कर्मचारीको राजीनामा स्वीकृत नगर्ने, अन्य कार्यालयमा सरुवा वा रवाना नगर्ने तथा अत्यावश्यक बाहेक बिदा स्वीकृत नगर्ने निर्देशन दिइएको छ ।
सशस्त्र प्रहरीका अनुसार निर्वाचनको समयमा सुरक्षा व्यवस्थापन सबैभन्दा संवेदनशील पक्ष भएकाले जनशक्ति अभाव हुन नदिन यो कदम चालिएको हो । निर्वाचनका बेला मतदान केन्द्र, मतपेटिका सुरक्षा, संवेदनशील क्षेत्र निगरानी तथा सीमा क्षेत्रमा सुरक्षालाई मजबुत बनाउन सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन हुने योजना छ ।
सुरक्षा निकायका अधिकारीहरूका अनुसार निर्वाचन अवधिमा सानो कमजोरीले पनि समग्र निर्वाचन प्रक्रियामा असर पार्न सक्ने भएकाले सुरक्षा व्यवस्थालाई उच्च सतर्कताका साथ अघि बढाइएको छ । सशस्त्र प्रहरीले आन्तरिक व्यवस्थापन कडाइ गरेर निर्वाचन सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्ने तयारी गरेको छ ।
सत्यपाटी