बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सामाजिक सद्भाव र आपसी एकताको सङ्गम बनेको छ । नेपालगन्जदेखि करिब ४७ किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका–२ स्थित खलीफा नूर अहमद साहको मजार सरिफमा उक्त मेला लाग्दै आएको छ ।
प्रत्येक वर्ष आयोजना गरिने धार्मिक मेलामा नेपालसहित छिमेकी मुलुक भारतका हिन्दू–मुस्लिम समुदायका धार्मिक श्रद्धालुहरू सहभागी हुने गरेका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले खलिफा नूर अहमद साहको मजारलाई प्रमुख धार्मिक सदभाव पर्यटनस्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको जानकारी दिए ।
नरैनापुरका देशका विभिन्न भागका हिन्दू मुस्लिमसँगै सीमापारि भारतका पनि सयौँ हिन्दू मुस्लिमको सहभागिता रहने सो मेलालाई धार्मिक एकताको मेलाका रूपमा पनि मनाइने गरिएको उनको भनाइ छ । प्रसिद्ध सुफीसन्तकोे समाधीमा मेलाको बेला आउने हिन्दू मुस्लिम जोकोहीको पनि मनोकामना पूरा हुँदै आएकाले मेलामा आउनेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको स्थानीय ताज मोहम्मद खानले बताए ।
उनका अनुसार शनिबारबाट सुरु भएको मेला एक हप्तासम्म सञ्चालन हुनेछ । मेलामा रातिको समयमा धार्मिक प्रवचन हुँदै आएको छभने भाकल गरेकाहरूले दैनिक रूपमा बाबाको समाधीमा फातिहा, नियाज तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् । धार्मिक सद्भाव र एकताको प्रतीकका रूपमा रहेको सो मजारको संरक्षण र विकास सरकारले गर्नुपर्ने खानले बताए । गाउँपालिकाले मेलामा सहभागी श्रद्धालुहरूलाई खानेपानी, आवास तथा स्वास्थ्योपचारका लागि विभिन्न शिविरहरू सञ्चालन गरेको छ ।
सत्यपाटी