मंसिर १२ गते कंकालिनी माईको मन्दिरलाई साक्षी राखेर मुकेश र अम्बिकाले सँगै जिउने कसम खाएका थिए । लगत्तै कानुनी रूपमै विवाह दर्ता पनि भयो । तर, मन्दिरका देउता र अड्डाका कागजले उनीहरूको मन भने जोड्न सकेन ।
विवाहको दुई महिना नबित्दै रंगेली–५ बहुवानमा बुधबार बिहान यो प्रेम सम्बन्धको अन्त्य भएको छ । २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घर पुगेर २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरी आत्महत्या गरेका छन् । मंगलबार राति भएको यो घटनाले गाउँ शोकमा डुबेको छ ।
प्रहरीका अनुसार, विवाहको केही समयदेखि नै उनीहरूबीच खटपट सुरु भइसकेको थियो । विवाद बढ्दै गएर कुटपिटको उजुरी प्रहरीको महिला सेलसम्म पुग्यो । त्यहाँ मिलापत्र गरेर उनीहरूलाई घर पठाइएको थियो । तर, सम्बन्धमा सुधार आउनुको सट्टा झन् दूरी बढ्यो र उनीहरू अलग–अलग बस्न थाले ।
मंगलबार साँझ साढे ६ बजेतिर मुकेश अचानक अम्बिकाको माइती पुगेका थिए । उनले ‘म श्रीमान् हुँ, सँगै बस्छु’ भन्दै जिद्दी गरेपछि माइती पक्षले सम्झाइबुझाई गरेका थिए । तर मुकेश नमानेपछि उनीहरूलाई एउटै कोठामा सुत्न दिइएको थियो । राति पौने ३ बजेतिर कोठाभित्र चिच्याएको आवाज सुनेर अम्बिकाकी आमा ब्युँझिइन् ।
उनी अत्तालिँदै ढोका ढकढक्याउन पुगिन्, तर ढोका भित्रबाट थुनिएको थियो । ‘झ्यालबाट हेर्दा कोठा रगतले राताम्मे भइसकेको थियो,’ मोरङ प्रहरीका एक अधिकारीले भने, ‘अम्बिकाको ज्यान गइसकेको थियो भने मुकेश घाँटी काटिएको अवस्थामा छटपटाइरहेका थिए ।’ घटनास्थल पुगेका मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार प्रारम्भिक अनुसन्धानले मुकेशले चक्कु प्रहार गरी पत्नीको हत्या गरेपछि आफ्नो पनि घाँटी रेटेको देखाउँछ ।
‘घरेलु विवादले उग्र रूप लिँदा यो बीभत्स घटना भएको देखिन्छ,’ एसपी कटुवालले भने, ‘घटनाको प्रकृतिबारे हामीले गम्भीरताका साथ थप अनुसन्धान अगाडि बढाएका छौँ ।’ बिहानै कोशी अस्पतालका फरेन्सिक डाक्टरसहितको टोलीले घटनास्थलको जाँच गरेको थियो । अहिले दुवैको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ । मन्दिरबाट सुरु भएको उनीहरूको सहयात्रा रंगेलीको एउटा सानो कोठामा रगतको टाटो बनेर टुङ्गिएको छ ।
सत्यपाटी