२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

शिशुले खाने दूधमा विषाक्तताको जोखिम, नयाँ मापदण्ड प्रस्ताव

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ २० गते मंगलबार

युरोपेली युनियनको खाद्य सुरक्षा निकाय (इएफएसए)ले सोमबार पाउडर दूधमा कहिलेकाहीँ पाइने विषाक्तता नियन्त्रणका लागि नयाँ मापदण्ड प्रस्ताव गरेको छ ।

शिशुका लागि प्रयोग हुने फर्मुला दूधमा प्रतिलिटर ०.०५४ माइक्रोग्राम र ६ महिनाभन्दा माथिका शिशुका लागि तयार पारिने दूधमा प्रतिलिटर ०.१ माइक्रोग्रामभन्दा बढी ‘सेरुलाइड’ (विषाक्त पदार्थ) हुनुले सुरक्षित स्तर पार गर्न सक्ने इएफएसएले उल्लेख गरेको छ ।

इटालीमा रहेको यो निकायले एक विज्ञप्ति जारी गर्दै जोखिम प्रबन्धकहरूलाई सावधानीका रूपमा कुन अवस्थामा उत्पादनहरू बजारबाट फिर्ता लिने भन्ने निर्णय गर्न मद्दत पुर्याउने उद्देश्यले यो सुझाव दिएको बताएको छ । यो नयाँ सुझाव आएपछि बजारमा फैलिएको त्रास र विरोध साम्य हुने हो वा पुनः जारी रहने हो भन्नेबारे अहिले नै केही भन्न सकिने अवस्था छैन ।

नेस्ले, डानोन र ल्याक्टालिस जस्ता प्रसिद्ध विश्वव्यापी उत्पादकहरूले सेरुलाइडको जोखिम बढेपछि डिसेम्बरदेखि नै फ्रान्ससहित ६० भन्दा बढी देशहरूमा पठाइएका उत्पादनहरू बजारबाट फिर्ता बोलाएका छन् । विशेषगरी पहिलो ६ महिनाका शिशुका लागि तयार पारिएका दूधका ब्याचहरूमा समस्या देखिएपछि कम्पनीहरूले यस्तो कदम चालेका हुन् ।

फ्रान्सेली स्वास्थ्य मन्त्रालयका अनुसार जीवाणुले उत्पादन गर्ने यस्तो विषाक्तताले शिशुहरूमा बान्ता वा झाडापखाला जस्ता गम्भीर पाचन समस्याहरू निम्त्याउन सक्छ । फ्रान्समा दुई जना शिशुको मृत्यु भएपछि यो विषयले थप गम्भीर मोड लिएको थियो । ती शिशुहरूले नेस्ले कम्पनीले फिर्ता लिएको त्यही फर्मुला दूध खाएका कारण ब्याक्टेरियाको सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा दुई वटा छुट्टाछुट्टै अनुसन्धान सुरु गरिएको थियो ।

यद्यपि, फ्रान्सको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ती शिशुको मृत्यु र दूध सेवनबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भने गरिसकेको छैन । युरोपेली आयोगले बालबालिकाका उत्पादनहरूमा सेरुलाइडको मात्रा निर्धारण गर्न इएफएसएलाई जिम्मेवारी दिएपछि यो नयाँ मापदण्ड सार्वजनिक भएको हो । यसले आगामी दिनमा शिशु खाद्य पदार्थको गुणस्तर र सुरक्षालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार