२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

निर्वाचनमा रोचक भिडन्त हुने बाँकेमा कति छन् मतदाता ?

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ माघ १९ गते सोमबार

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका काम तीव्र रूपमा अघि बढेको छ । सम्बन्धित निर्वाचन कार्यालयका अनुसार निर्वाचन व्यवस्थापन, मतदान केन्द्रको तयारी, सुरक्षा प्रबन्ध, निर्वाचन सामग्री वितरण तथा सरोकारवाला निकायसँगको समन्वयलाई प्राथमिकताका साथ तीव्र रूपमा अघि बढाएको हो ।

निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणसहित मर्यादित ढङ्गले सम्पन्न गराउने लक्ष्यका साथ तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट गरेको छ । भौगोलिक संरचनाका आधारमा निर्वाचन क्षेत्र नं २ मा डुडुवा गाउँपालिकाका ६ वटै वडा, नेपालगन्ज उपमहानगरपालिकाका १ देखि १५ र १७ देखि २३ सम्मका वडाहरू समेटिएका छन् ।

निर्वाचन क्षेत्र नं २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र छ जना अन्यसहित कुल एक लाख आठ हजार २९० मतदाता सो क्षेत्रमा रहेका छन् । मतदान प्रक्रियालाई सहज र व्यवस्थित तुल्याउन ४३ वटा मतदान स्थलसहित १२४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको उनले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत सरोज वाग्लेका अनुसार कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिका अन्तर्गतका सबै वडा उक्त निर्वाचन क्षेत्रमा समावेश छन् । उनका अनुसार यस क्षेत्रमा कुल एक लाख २४ हजार ७२७ मतदाता रहेका छन् । यसैगरी क्षेत्र नं १ मा ४८ वटा मतदानस्थलसहित १४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार कुल १ लाख १७ हजार ३५४ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला मतदाता रहेका छन् । बाँकेका २४ वडा समेटिएको सो निर्वाचन क्षेत्रम ४८ वटा मतदानस्थल र १३५ वटा मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । करिब ९० पृष्ठ लामो आचारसंहितामा निर्वाचन प्रचारप्रसार, नियमन तथा नियन्त्रणसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । आचारसंहिता अनुसार निजी सम्पत्तिको दुरुपयोग, कसैको मान–मर्यादा र चरित्रमा आँच पुर्याउने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने उल्लङ्घन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने व्यवस्था गरिएको जिल्ला निर्वाचनको कार्यालय बाँकेले स्पष्ट गरेको छ ।

निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको पूर्वाग्रही व्यवहार नहुने, सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई समान व्यवहार गरिने तथा आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १६, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट नारायण गौडेल, नेकपा एमालेबाट सूर्यप्रसाद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेश चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीपकुमार शाह उम्मेदवार रहेका छन् ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सुधांशु कोइराला, नेकपा एमालेबाट मोहम्मद इस्तियाक राई, नेपाली कम्युनिष्ट पार्टीबाट दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिराज देवकोटा उम्मेदवार रहेका छन् भने क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट अमरसिंह पुन, नेकपा एमालेबाट सुमन मल्ल, नेपाली कम्युनिष्ट पार्टीबाट दीपक जीएम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तारकसिंह थारु उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार