२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

जीतेन्द्र देवले त्यागे एमाले

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १९ गते सोमबार

नेकपा एमालेका नेता जीतेन्द्रनारायण देवले एमाले परित्याग गरेका छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी त्यागेको घोषणा गरेका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सही तरिकाले बुझ्नुको सट्टा एमालेले ‘विदेशी षड्यन्त्र’ देखेको भन्दै आफूले पार्टी परित्याग गर्नुपरेको उल्लेख गरेका छन् ।

‘विगत लामो समयदेखि देशमा बिद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरुको आम विदेश पलायनको विरुद्धमा आक्रोशको बिष्फोट थियो भदौ २३ गतेको जेनजी विद्रोह,’ देवले लेखेका छन्, ‘यसलाई यसै रूपमा नबुझी वा बुझ्न नचाही आफू सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई विदेशी षड्यन्त्र देख्ने, पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी संचालन गर्ने विचार नीति तथा व्यवहारसँग असहमत भइ आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दै सबै पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु ।’

कांग्रेसमा रहेका उनी यसअघि २०८१ असार १७ गते एमाले प्रवेश गरेका थिए । कांग्रेसमा चाहिँ उनी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै आएका थिए । उक्त पार्टी कांग्रेसमा समाहित भएसँगै उनी पनि कांग्रेसमा गएका थिए । उनको पुरानो पृष्ठभूमि भने वामपन्थीकै हो । उनले २०४९ सालमा एमालेबाट राजनीति थालेका थिए । उनी पछिल्लो समय कांग्रेसबाट राष्ट्रिय सभा सदस्य पनि बनेका थिए ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार