२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

पाँच दशकपछि चन्द्रमामा मानव पठाउने नासाको तयारी तीव्र

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १८ गते आइतबार

नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ । अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा नासाले शनिबार दुईदिने प्रयोगात्मक काउन्टडाउन शुरू गरेको हो ।

यस अभ्यासले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रियादेखि अन्तिम तयारीसम्मको परीक्षण गर्नेछ । यो परीक्षण सफल भएमा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको कक्षमा पुर्याएर पृथ्वी फर्काउने मिसनको प्रक्षेपण मिति तय हुने नासाले जनाएको छ ।

कमान्डर रिड वाइजम्यानको नेतृत्वमा रहेका अन्तरिक्ष यात्रीहरू हाल स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टिनमा छन् । उनीहरू सन् १९७२ पछि चन्द्रमातर्फ यात्रा गर्ने पहिलो मानव टोली हुनेछन् ।

अन्तरिक्ष यात्रीहरूले टेक्सासको ह्युस्टनस्थित नासा केन्द्रबाट अभ्यास प्रक्रियाको निगरानी गर्नेछन् र रकेट उडानका लागि स्वीकृत भएपछि केनेडी स्पेस सेन्टरतर्फ प्रस्थान गर्नेछन् ।

३२२ फिट अग्लो ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) रकेट दुई साताअघि नै प्रक्षेपण स्थलमा सारिएको थियो । सोमबार हुने इन्धन भर्ने परीक्षण सफल भएमा नासाले एक साताभित्रै प्रक्षेपणको तयारी गर्न सक्नेछ ।

परीक्षणका क्रममा रकेटमा ७ लाख ग्यालोनभन्दा बढी अत्यधिक चिसो इन्धन भरिनेछ, जुन इन्जिन प्रज्वलन हुनुभन्दा करिब ३० सेकेन्ड अगाडिसम्म पुगेर रोकिनेछ ।

यसअघि प्रतिकूल मौसमका कारण इन्धन परीक्षण र प्रक्षेपण तालिका दुई दिन पछि सरेको थियो । हालको तालिकाअनुसार फेब्रुअरी ८ लाई सबैभन्दा चाँडो सम्भावित प्रक्षेपण मिति मानिएको छ ।

‘ओरियन’ क्याप्सुलमा सवार अमेरिकी र क्यानाडाली अन्तरिक्ष यात्रीहरू चन्द्रमाको वरिपरि घुमेर सतहमा अवतरण नगरी पुनः पृथ्वी फर्कनेछन् । करिब १० दिन लामो यस मिसनको अन्त्य प्रशान्त महासागरमा अवतरण भएर हुनेछ ।

यसअघि ‘अपोलो’ कार्यक्रम अन्तर्गत सन् १९६८ देखि १९७२ सम्म नासाले २४ जना अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ पठाएको थियो, जसमध्ये १२ जनाले चन्द्र सतहमा पाइला टेकेका थिए ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार