२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

हिमपातले कोरला नाकामै रोकिए कन्टेनर, निकासी तथा पैठारी प्रभावित

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ माघ १८ गते आइतबार

लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ ।

गएको मङ्गलबारदेखि नाका क्षेत्रमा बाख्लो हिमपातका कारण कोरला नाकाबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयबाट निकासी तथा पैठारी प्रभावित बनेको हो ।

कोरला नाकास्थित चिनियाँ भन्सार कार्यालयमा विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनर रोकिएको छ भने नेपालबाट निकासी हुने सामान बोकेका मालबाहक ट्रक भन्सार कार्यालयमै रहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले भने, ‘बाख्लो हिउँ जमेकाले सेवा प्रभावित भएको छ, अझै एकसातासम्म नियमित हुने सम्भावना न्युन छ ।’

भन्सार कार्यालयबाट समुन्द्रि सतहदेखि चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाकास्थित दसगजा क्षेत्रसम्मको सडक उकालो भएकाले सडकमा जमेको हिउँमा मालबाहक ट्रक लैजान समस्या हुने भएकाले भन्सार कार्यालयमै थन्किएका छन् ।

हिमपातपछि मौसम अनुकुल बन्दै गएको अवस्थामा डोजरको प्रयोग गरी हिउँ पन्छाउने प्रयास गरिएपनि चिप्लो हुदाँ सडकमै सवारीसाधन फस्ने जोखिम रहेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए ।

भन्सार कार्यालयबाट सदरमुकाम जोमसोम जोड्ने कालिगण्डकी करिडोर अन्तरगत छोसेर–जोमसोम सडकखण्ड समेत हिउँ जमेकाले सहज समान ढुवानीमा समस्या हुने गरेको प्रमुख खड्काको भनाइ छ ।

भन्सार कार्यालयमा हाल करिब तीन दर्जन मालबाहक ट्रक, कन्टेरन रोकिएको छ । भन्सार जाँचपास भएका र केही प्रक्रियामा रहेको अवस्थामा हिमपात भएपछि सेवा प्रभावित भएको प्रमुख खड्काले बताए ।

भन्सार कार्यालयबाट कोरला नाकासम्म चिनतर्फ पैठारी गर्ने र फर्किने बेलामा चिनबाट आउने सामान ढुवानीका लागि प्रयोग हुन्छ । भन्सार कार्यालयले माघ महिनाको पहिलोसातासम्म विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनरबाट चार अर्ब ५४ करोड राजस्व उठाएको छ ।

विसं. २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८३–०८४ सालको भदौ ३० गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयबाट हालसम्म तीन हजार ३२९ विद्युतीय (ईभी) गाडीसहित मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ ।

त्यस्तै निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ । यो अवधिमा ११ अर्ब बराबरको सामान आयात तथा २० करोड हजार बराबरको निर्यात भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार