निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले सातै प्रदेशका क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको हो ।
त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमुना समेत सार्वजनिक गरिएको छ । नमुना मतपत्र मतदाता शिक्षाका निम्ति प्रयोग गरिनेछ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, उमेदवारको संख्याका आधारमा पनि मतपत्रको नमुना तयार पारिएको छ । उमेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम भएका क्षेत्रमा सानो मतपत्र छापिएको छ । यस आधारमा काठमाडौंको मतपत्रको नमुना सबैभन्दा ठूलो छ ।
एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा तथा दैलेख र सुर्खेतमा दुई निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको नमुना पनि आयोगले सार्वजनिक गरेको छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमुना पनि आयोगले सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेकोे छ ।
सत्यपाटी