कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमको चुनावी अभियान शुक्रबार सकेका छन् । सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विना कुनै सम्बोधन मौन अभियान सञ्चालन गरेका हुन् ।
जिल्लाका रहेका पार्टी कार्यालय र उम्मेदवारहरूका चुनावी सम्पर्क कार्यालयमा घण्टी बजाउँदै सर्मथकहरू माझ उपस्थित भए पनि उनले कुनै पनि कार्यक्रममा सम्बोधन गरेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका नेता बालेनले चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीबाट सुदूरपश्चिमको चुनावी अभियान थालेका थिए । कैलाली–२ बाट रास्वपाले युवा नेता केपी खनाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
खनाल रास्वपाभित्र बालेन निकट युवा नेताका रूपमा चिनिन्छन् । चुनावी अभियानका क्रममा आफ्नो पार्टीका उम्मेदवारहरूसित भलाकुसारी र सामान्य छलफल गरे पनि सार्वजनिक मञ्चबाट भाषणबाजी नगरे पनि यात्राका क्रममा उनले डोट्याली भाषामा स्टाटस लेख्दै फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै हिँडे । लम्कीपछि धनगढी हुँदै कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को पुनर्बास पुगेका शाहले सोही दिन कञ्चनपुरको शुक्लाफाँटा र महेन्द्रनगरमा रहेको पार्टी कार्यालय पुगेर घण्टी बजाउने र शुभेच्छुक माझ प्रस्तुत भए ।
यो क्रममा शाहले डडेल्धुराको प्रसिद्ध बाजेको खीरको स्वाद लिनेदेखि हिँउसित फोटो खिच्नुका साथै विभिन्न स्थानको अवलोकन गरेको तस्बीर सामाजिक सञ्जालमार्फत भाइरल भए । अभियानकै क्रममा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका विभिन्न स्थानमा चुनावी अभियान सकेर शुक्रबार बालेनको टिम कर्णालीतर्फ प्रस्थान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिश भट्टले जानकारी दिए ।
‘बालेन कालिकोटको मान्म पनि पुग्नुभएको छ,’ रास्वपाका समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टले भने, ‘अब चाँडै पार्टीले प्रदेश सरकारका चुनावी सभा आयोजना गर्दा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।’ नेता भट्टका अनुसार सुदूरपश्चिम भ्रमणका क्रममा वरिष्ठ नेता बालेनले पार्टीका उम्मेदवारहरूसित स्थानीयस्तरमा विद्यमान समस्या, मतदाता र पार्टीको अवस्थाबारे जानकारी लिने गरेका थिए ।
‘उम्मेदवारहरूसित छोटोमा छलफल गर्नुभयो,’ भट्टले भने, ‘बालेनको सुदूरपश्चिम भ्रमणले उत्साह जगाएको छ ।’ उनले निर्वाचन आचारसंहितालाई ख्याल गरेर सम्बोधन नगरिएको बताए । जिल्लाहरूमा छोटो भेटघाट र यात्राका क्रममा बाटोमा भेटिएका सर्मथकहरूसित हार्दिकता साटेर उनी कर्णालीको यात्रामा रहेका बालेन आज काठमाडौं फर्किएका छन् । बालेनको सुदूर यात्रामा उनीप्रतिको क्रेज अत्यधिक देखिएको रास्वपाका नेताहरूले बताएका छन् ।
चुनावी अभियानका क्रममा अछाममा गम्भीर घाइते भई टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएका पत्रकार दिनेश सिटौलालाई भेट्न रास्वपाका वरिष्ठ नेता बालेन कर्णाली प्रदेशको चुनावी अभियानलाई छोट्याएर आजै काठमाडौं फर्केका छन् । चुनावी अभियानलाई छोट्याउँदै अस्पतालमा भर्ना गरिएका पत्रकार दिनेश सिटौलाका परिवारलाई उनले दिउँसो १२ बजे भेट गरेका छन् । सिटौलाको स्थिति गम्भीर रहेको र भेट्न नमिलेपछि भाइ उमेश सिटौलासँग भेटेर बालेन बनस्थलीस्थित घण्टीघर पुगेका छन् ।
उनले सिटौलाको स्थिति जटिल रहेको जानकारी पाएको भन्दै आइतबार विहान ७ बजेसम्म धैर्य गर्न परिवारका सदस्यलाई आग्रह गरेका थिए । अछाममा लडेर घाइते भएका सञ्चारकर्मी दिनेश सिटौलाको अवस्था गम्भीर छ । चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीका अनुसार टोखास्थित ग्रयाण्डी अस्पतालका चिकित्सकले शनिबार दिनभरिमा स्वास्थ्यस्थितिको जानकारी दिने बताएका छन् । सिटौला उक्त संघका निवर्तमान अध्यक्ष हुन् ।
लुम्बिनीपछि सुदूरपश्चिम हुँदै शुक्रबार कर्णाली (दैलेख जिल्ला) आइपुगेका उनी आज (शनिबार) बिहानै सुर्खेत विमानस्थलबाट बुद्ध एयरको विमान चढेर काठमाडौँ फर्किएका हुन् । अनि आज (शनिबार) बिहान ८ बजे होटलबाट गाडी चढेर वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत दैलेखरोड चोकस्थित पार्टी कार्यालय पुगेर उनले घण्टी बजाउँदै हात हल्लाए । त्यसपछि सुर्खेतको प्रसिद्ध धार्मिक स्थल देउतीबज्यै मन्दिरको दर्शन गरेर उनी सुर्खेत विमानस्थल पुगी बुद्ध एयरको विमानबाट काठमाडौँ फर्किएका हुन् ।
बालेन आज बिहान ११ बजेतिर उनी काठमाडौँ ओर्लिसकेका थिए । यसअघि बालेन जनकपुर हुँदै झापा पुगेर झापा–५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका बालेन त्यसपछि पूर्वका केही जिल्लामा पुगे । इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न क्षेत्रमा पुगेर समर्थकलाई उनले भेट गरेका थिए । शनिबार बिहान धनकुटा सदरमुकाम पुगेका बालेन त्यहाँबाट फर्किएका थिए । झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका शाह त्यस आसपासका जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।
सत्यपाटी