२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

रास्वपा नेता बालेन शाहको घरमा तोडफोड, चोरीको आशंका !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १७ गते शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको काठमाडौँको मण्डिखाटारस्थित निजी निवासमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले राजधानीमा रहेको शाहको घरको मूल ढोका (गेट)मा क्षति भएको देखिन्छ ।

त्यस्तै झ्यालको ग्रिल फुटाएको अवस्थामा देखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहको घरको गेटमा रहेको फलामे ग्रील पनि फुटाइएको अवस्थामा भेटिएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले उक्त स्थानको निरीक्षण गरेको थियो । परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) कौशल बुढाथोकीले घटनाको प्रकृति हेर्दा चोरी गर्ने उद्देश्यले तोडफोड भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

‘घरमा कोही नबस्ने र गेट पनि फुटाइएको देखिएकाले शंकास्पद समूहले चोरीको प्रयास गरेको हुनसक्छ,’ डिएसपी बुढाथोकीले भने, ‘हालसम्म घरभित्रका सामानहरू हराएको भन्नेबारे कुनै आधिकारिक उजुरी भने प्राप्त भइसकेको छैन ।’

‘ग्रिल फुटेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘आफन्तले जानकारी गराएपछि हामीले थप अनुसन्धान सुरु गरेका छौं ।’ बालेन परिवार घरमा नभएको मौका छोपी उक्त समूहले तोडफोड गरिएको छ । प्रहरीका अनुसार बालेनले गत माघ ४ गतेदेखि उक्त घर भाडा लिएका हुन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं.५ बाट उम्मेदवार रहेका नेता शाह हाल चुनावी प्रचारप्रसारका क्रममा सुदूरपश्चिम प्रदेश हुँदै कर्णाली प्रदेशमा पुगेका छन् । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको र संलग्नहरूको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार