२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

राष्ट्रिय वाणिज्य बैंकको पोष्टमा नेपालको चुच्चो नै गायब !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १६ गते शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकले चुच्चोबिनाको नक्सा राखेर सहिद दिवसको शुभकामना दिएको छ । बैंकले शहीद दिवसको अवसरमा सामाजिक सञ्जाल (फेसबुक)मा सेयर गरेको पोष्टमा नेपालको नक्सामा चुच्चो नै गायब पारिएको पाइएको हो ।

सरकारी बैंककै पोस्टमा नक्साको चुच्चो गायब भएपछि धेरैले त्यसको विरोध गरेका छन् । बैंकले माग १६ गते बिहान फेसबुकमा ‘महान् शहीदहरुप्रति हार्दिक श्रद्धासुमन !’ भन्दै नेपालको नक्सा र शहीदहरुको फोटोसहितको पोस्ट गरेको छ ।

तर, उक्त पोष्टमा राखिएको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चो भने गायब गरिएको छ । यसो त सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सालाई आधिकारिता दिएको छ ।

त्यतिमात्र होइन, बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले समेत चुच्चे नक्सासहितको नोट चलनचल्तीमा ल्याइसकेको छ । तर, सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले भने उक्त नक्साको चुच्चो नै गायब गरिएको नक्सासहितको फोटो फेसबुकमा पोस्ट गरेको छ ।

यो त्यही बैंक हो, जुन बैंक पछिल्लो समय राजनीति गर्ने थलोका रुपमा स्थापित भएको छ । राजनीतिक नियुक्तिकै कारण विवादमा परिरहने उक्त बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनाल माओवादीका क्याडर हुन् ।

यता सोही बैंकको ऋणी रहँदा रहँदै पनि गैरकानूनी रुपमा जबरजस्ती बैंकको सञ्चालक बनेका हरिकुमार सिलवाल एमालेका कार्यकर्ता हुन् । उनी तत्कालीन एमालेकै सरकार हुँदा बैंकको सञ्चालकमा नियुक्त भएका थिए ।

यसरी सिइओ माओवादी क्याडर र सञ्चालक एमालेको कार्यकर्ता भएको बैंकले सहिद दिवसकै दिन देशको स्वाभिमानमाथि भद्दा मजाक गर्दै चुच्चोबिनाको नक्सा पोस्ट गरेपछि धेरैले त्यसको विरोध गरेका छन् । अझ सरकारी बैंकले नै नक्साको चुच्चो गायब पारेपछि सामाजिक सञ्जालमा राष्ट्रिय वाणिज्य बैंकलाई ‘राष्ट्र विरोधी’ भन्दै गालीसमेत गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार