२०८२ फागुन ३ , आइतबार 16, February 2026, Monday

ओखलढुंगामा वृद्ध दम्पतीको विभत्स हत्या

सत्यपाटीसत्यपाटी । ओखलढुंगा । २०८२ माघ १३ गते मंगलबार

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ मा करिब ८० वर्षीय चन्द्रबिक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको छ । मंगलबार बिहान करिब साढे ७ बजेतिर चिशंखुगढी गाउँपालिका ६ स्थित उनीहरुकै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

हत्यको कारण प्रहरीले प्रारम्भिक रूपमा लुटपाटको आशंका व्यक्त गरेको छ । मृतक दम्पतीको घरमा किराना पसल सञ्चालन थियो र त्यहाँको पैसा राख्ने स्थान फुटाइएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक बिक्रमबहादुर भट्टराईका अनुसार, घरमा दम्पतीमात्रै बस्ने भएकाले घटना विगतका लुटपाट–हत्या घटनासँग समानता देखाउँछ । प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरी अनुसन्धान तीव्र बनाएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चारजनालाई गिरोहका सदस्यको रूपमा पक्राउ गरेको थियो। ती व्यक्तिहरूले २०८२ पुस १५ र असोज २६ मा क्रमशः दुई दम्पती र एक व्यक्तिको वीभत्स हत्या गरी नगद तथा गहना लुटेको आरोप छ ।

पक्राउ परेका व्यक्तिहरूले हत्या गर्न बञ्चरो, खुकुरी, रिंग, बन्दुक, कोदालो र मोबाइल प्रयोग गरेको प्रहरीको तथ्यांक छ । तर, नयाँ दम्पती हत्या घटनाले अनुसन्धानमा थप रहस्य थपेको छ । निरीक्षक भट्टराईले भने, ‘अहिलेको घटना र अघिल्लो गिरोह सम्बन्धित छ वा छैन भन्ने कुरा अनुसन्धानबाट मात्र थाहा पाउनेछौं ।’

स्थानीयबासी र सुरक्षा विशेषज्ञहरूले वृद्धवृद्धा, घरमै बस्ने एकल दम्पती र साना व्यापारीहरूको सुरक्षा चुनौतीबारे चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘यस प्रकारका लगातार अपराधले गाउँमा सुरक्षा व्यवस्थाको पुनर्मूल्यांकन आवश्यक बनाउँछ । प्रहरी र स्थानीय प्रशासनको सहकार्य अझ तीव्र हुनुपर्छ ।’ अनुसन्धान तिव्र रुपमा अगाडी बढाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार