नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा क्रमिक बदली देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी हिमाली भू–भागमा आंशिक बदली रहेको छ ।
तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहे पनि गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा अहिले हल्का हिमपात र वर्षा भइरहेको छ ।
आज दिउँसोको समयमा तराईका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने भए तापनि अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने देखिन्छ ।
रातिको समयमा भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी पहाडी भेगमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी राति कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तल झरेको छ । महाशाखाका अनुसार सोमबार बिहान ५ः४५ बजे काठमाण्डुको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको हो । आइतबार यहि समयमा काठमाण्डुको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।
सत्यपाटी