नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि चुनावी सहमति भएको छ । दुवै दलबीच लिखित सहमति–पत्रमा हस्ताक्षर भएको हो ।
सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले रुकुम पश्चिमबाट आफ्नो उम्मेदवार जनार्दन शर्माको पक्षमा आँखा चिह्नमा मतदान गर्नेछ । त्यसैगरी, पूर्वी रुकुमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनको पक्षमा एमालेले आँखा चिह्नमै मतदान गर्ने सहमति भएको छ ।
त्यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्ला जिल्ला तथा पूर्व राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारको पक्षमा प्रगतिशील लोकतान्त्रिक पार्टीले सूर्य चिह्नमा मतदान गर्ने सहमति पनि भएको सहमति–पत्रमा उल्लेख छ । दुवै दलले उक्त सहमति कार्यान्वयनका लागि आफ्ना–आफ्ना आन्तरिक पंक्तिलाई तत्काल निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहमति–पत्रमा एमालेका तर्फबाट अध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् । यस सहमतिलाई आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक शक्तिहरूबीच तालमेल विस्तारको प्रयासका रूपमा हेरिएको छ ।
सत्यपाटी