मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न वितरण गरेसंगै बाँकेमा उम्मेदवार निर्वाचनको प्रचारप्रसारमा लागेका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले जनताको घरदैलोमा पुग्ने योजना बनाएर घरदैलो अभियानलाई औपचारिक रूपमा सुरु गरिसकेका छन् ।
बाँकेको क्षेत्र नं.१ र क्षेत्र नं.२ मा पुराना उम्मेदवारलाई यस पटक नयाँ उम्मेदवारले कडा चुनौती दिने स्थानीय मतदाताको भनाइ छ । क्षेत्र नं.१ मा एमालेबाट उम्मेदवार बनेका निवर्तमान सांसद सूर्य ढकाललाई नेपाली कांग्रेसका नारायण गौडेल, नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश चौधरीले कडा टक्कर दिने देखिएको छ ।
ढकालसँगै सो क्षेत्रमा उम्मेदवार बनेका गौडेल नेपाली कांग्रेस बाँकेका सभापति हुन् भने पाण्डे पनि नेकपाको बाँके संयोजक हुन् । गौडेल र पाण्डे दुवैको यो क्षेत्रमा राम्रो पकड भएको बताइन्छ । गत निर्वाचनमा नागरिक उन्मुक्ती पार्टीबाट उम्मेदवार बनेर राम्रो मत ल्याएका चौधरी यसपटक रास्वपाबाट उम्मेदवार बनेका छन् ।
लगातार दोस्रो पटक प्रतिनिधि सभामा पुग्ने दाउमा रहेका एमालेका ढकाललाई यस पटक गत निर्वाचन जस्तो सहज नभएको कोहलपुरका स्थानीय रमेश थापाले बताए । उनले यस पटक कांग्रेस, नेकपा र रास्वपाका उम्मेदवारले ढकाललाई निकै कडा टक्कर दिने देखिएको बताए । क्षेत्र नं.१ मा यसपटक १६ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।
त्यसैगरी क्षेत्र नं.२ मा पनि पुरानालाई नयाँले कडा टक्कर दिने आँकलन गरिएको छ । दुई पटक सांसद र तीन पटक मन्त्री भइसकेका मोहम्मद इस्तियाक राईलाई एमालेले यस पटक यो क्षेत्रबाट उम्मेदवार बनाएको छ । यहाँ नेपाली काँग्रेसका शुधांसु कोइराला र रास्वपाबाट विवेककुमार श्रेष्ठले चुनौति दिनेछन् ।
सत्यपाटी